-जेमी ह्वाइटहेड /बीबीसी न्यूज
मस्को(रुस), ८ वैशख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ‘सीधा वार्ता’को आह्वान गर्नुभएको छ । उहाँले त्यो ‘ढिलो नगरीकनै, छिटोमा १५ मेमा’ गर्नुपर्ने बताउनुभयो।
“हामी गम्भीर वार्ता खोजिरहेका छौँ…. द्वन्द्वका मूल कारण हटाउन र दिगो तथा बलियो शान्तितर्फ अघि बढ्नका लागि..” पुटिनलेले शनिवार राति अबेर गरी क्रेमलिनबाट प्रसारित दुर्लभ टेलिभिजन सम्बोधनमा भन्नुभयो।
जबाफमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफू ‘युद्धविरामसम्बन्धी वार्ताका लागि पुटिनलाई भेट्न तयार रहेको’ बताउनुभएको छ।
यूकेका प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसहितका युरोपेली नेताहरू युक्रेन पुगेर निस्सर्त ३० दिने युद्धविराममा सहमत हुन रुससँग आग्रह गरेको केही घण्टामा पुटिनले त्यस्तो आह्वान गर्नुभएको थियो।
युरोपेली नेताहरूको आह्वानपछि सुरुमा क्रेमलिन प्रवक्ता दिमित्री पेश्कोभले मस्कोले ‘यसबारे सोच्नु पर्ने भए पनि…हामीलाई दबाव दिनु बेकार छ’ भन्दै चेतावनी दिनुभएको थियो।
पुटिनको वार्ता प्रस्ताव
आफ्नो बयानमा पुटिनले वार्ताका क्रममा रुस र युक्रेन ‘नयाँ युद्धविरामहरूमा सहमत हुन सक्षम हुन सक्ने’ कुरालाई अस्वीकार गरेका छैनन्।
पुटिनले टर्कीको इस्तानबुलमा उक्त वार्ता प्रस्ताव गर्नुभएको छ।
रुसी राष्ट्रपतिले आइतवार टर्कीका राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनसँग यसबारे कुरा गर्ने बताउनुभयो।
जेलेन्स्कीको जबाफ
पुटिनको आह्वान सार्वजनिक भएको केही घण्टामा युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीले युद्धविरामका लागि वार्ता गर्न आफू पुटिनलाई भेट्न तयार रहेको बताउनुभएको छ ।
पुटिनले वार्ताका लागि गरेको निमन्त्रणालाई सीधा सङ्केत नगरी जेलेन्स्कीले भन्नुभएको छ, “रुसीहरू अहिले युद्धको अन्त्यबारे सोच्न थालेका छन् र यो सकारात्मक सङ्केत हो।”
उहाँ थप्नुहुन्छ, “सिङ्गो संसार यसका लागि लामो समयदेखि प्रतीक्षारत छ। अनि साँच्चै नै युद्ध अन्त्य गर्ने पहिलो पाइला युद्धविराम हो।”
रुसले सोमवारदेखि नै ‘पूर्ण, दीर्घकालीन र भरपर्दो’ युद्धविराम गर्ने आफूले अपेक्षा गरेको उहाँले बताउनुभयो।
किभएबाट युरोपेली नेताहरूको आह्वान
यसअघि शनिवार युरोपेली नेताहरूले युक्रेनको राजधानी भ्रमण गरेका थिए।
त्यहाँ उनीहरूले सोमवारदेखि सुरु हुने एक महिना लामो युद्धविराममा युक्रेनसँग सहमत हुन मस्कोलाई आह्वान गरेका थिए।
उक्त आह्वान फ्रान्स, जर्मनी, यूके र पोल्यान्डका नेताहरूसहितको एक गठबन्धनले गरेको थियो।
त्यस क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की उनीहरूसँगै उभिएका देखिएका थिए।
उनीहरूले सो युद्धविरामको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि छलफल बताएका थिए।
ती नेताहरूले त्यसमा सहमत नभए रुसको ऊर्जा तथा ब्याङ्किङ क्षेत्रमा व्यापक प्रतिबन्धहरू लगाइने बताएका थिए।
जबाफमा क्रेमलिनले उक्त प्रस्तावबारे सोचिरहेको तर दबावमाथि प्रतिक्रिया नजनाउने बतायो।
सो बैठकपछि सर किअर स्टार्मरले भन्नुभयो,”हामी सबै यहाँ अमेरिकासहित ृरुसी राष्ट्रपति भ्लादिमिरे पुटिनलाई बाहिर आउन आह्वान गरिरहेका छौँ। यदि उहाँ शान्तिप्रति गम्भीर हुनुहुन्छ भने उहाँसँग त्यो देखाउने अवसर छ।”
जेलेन्स्कीले थप्नुभयो, “हामीसँग उभिनुभएकामा यहाँहरू सबैलाई धन्यवाद। आज हामी साँचो र दिगो सुरक्षाको विकास र सुनिश्चिततामा केन्द्रित हुनेछौँ।”
‘निःसर्त वार्ता’मा पुटिनको जोड
त्यसको केही घण्टापछि पुटिन स्वयंले क्रेमलिनभित्र जम्मा भएका पत्रकारहरूमाझ बोलेको भिडिओ सार्वजनिक भएको थियो।
“यो युक्रेनी सेनाले नयाँ अस्त्र र सैनिकहरू पाएपछि, ट्रेन्च खन्ने र नयाँ कमान्ड पोस्टहरूको स्थापनापछिको थप सशस्त्र युद्धको प्रस्ताव नभई दीर्घकालीन, दिगो शान्तितर्फको पहिलो कदम हुनेछ”, उहाँले भन्नुभयो।
त्यस्तो शान्ति कसले चाहला?
पुटिनले मस्कोले अघि सारेका तीनवटा युद्धविराम प्रस्तावहरूको जबाफ दिन युक्रेन बारम्बार असफल भएको आरोप समेत लगाउनुभएको थियो।
ऊर्जा पूर्वाधारमा ३० दिनसम्म हमला गर्न रोक्ने, इस्टर युद्धविराम र गत साता दोस्रो विश्वयुद्धको सम्झनाका लागि पुटिनले गत महिना युद्धविराम आदेश दिनुभएको थियो।
युक्रेनले यसअघि ती समयभरि रुसी आक्रमणहरू जारी रहेको बताएको छ। रुसले युक्रेनका बारेमा पनि यस्तै दाबी गरेको छ।
“यिनै गतिविधिबीच पनि हामी किएभ अधिकारीहरूलाई पुनः वार्ता सुरु गर्न… सिधा कुरा सुरु गर्न प्रस्ताव गरिरहेका छौँ …. र म त्यो बिना कुनै पूर्व सर्त हुने कुरामा जोड दिन चाहन्छु”, शनिवार राति पुटिनले भन्नुभयो।
मस्को र किएभबीचको सिधा वार्ता तीन वर्षभन्दा केही समयअघि युक्रेनमा रुसको पूर्ण आकारको अतिक्रमण लगत्तै भएको थियो।


















