काठमाडौँ, २९ वैशाखː प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई शुभकामना दिनुभएको छ ।
सभामुख देवराज घिमिरेले आन्तरिक तथा बाह्य द्वन्द्वबाट आक्रान्त विश्वमा बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार भएको बताउनुभएको छ । २५६९औं बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै विश्वभर फैलिएको बुद्ध धर्मको मूल उद्गम थलो नेपाल हो भन्ने तथ्यले नेपालीलाई गौरवको अनुभूति हुने उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने बुद्ध जयन्तीले हामीलाई शान्ति, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बुद्ध जयन्तीले विश्वभरका करोडौँ मानिसहरूलाई सुमार्गमा लम्कन उत्प्रेरित गरेको छ ।” नेपालमा बौद्ध धर्म मात्र एक धार्मिक आस्था नभई हाम्रो सभ्यता, संस्कार र परम्परासँग पनि गहिरो रूपमा जोडिएको उहाँको भनाइ छ ।
“नेपाललाई ‘शान्तिको भूमि’ भनिनुका पछाडि यही ऐतिहासिक तथा आध्यात्मिक पृष्ठभूमि प्रमुख कारण हो, बुद्ध धर्मको मूल आधार पञ्चशीलले व्यक्ति, समाज र राष्ट्रलाई शुद्ध आचरणतर्फ डोरÞ्याउने मार्ग देखाउँछ”, सभामुख घिमिरेले भन्नुभएको छ । बुद्धका उपदेशहरू मेलमिलाप, विश्वास, समता र करुणामा आधारित भएको र ती शिक्षाहरूलाई जीवनशैलीमा आत्मसात् गर्नु नै आजको विश्वका लागि मानवता, सहिष्णुता र सहअस्तित्वको मार्ग भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभएको छ, “शान्ति, सत्य र अहिंसाका प्रतीक भगवान बुद्धको जन्मजयन्तीले सम्पूर्ण मानव समुदायलाई आपसी सम्मान, संयमता र सुदृढ सहकार्यतर्फ प्रेरित गरोस् भन्ने कामना गर्दै पुनः हार्दिक शुभकामना प्रकट गर्दछु ।”
लुम्बिनीलाई पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन जरुरी : राष्ट्रिय सभा अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउन सबैले पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । २५६९औँ बुद्ध जयन्तीको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रुपमा परिचित गराउँदै आन्तरिक पर्यटनलाई सुदृढ गर्न सरकारले उचित पहल गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, “विश्वशान्तिका अग्रदूत गौतम बुद्ध २५ सय वर्षअघि नेपालको लुम्बिनीमा जन्मिनुभएको थियो । उहाँले शान्ति र मानव कल्याणका लागि गृहत्याग गरी कठोर साधनाबाट ज्ञान प्राप्त गर्नुभयो । उहाँले पहिल्याउनु भएको ज्ञानले आज विश्वलाई शान्ति,अहिंसा, सत्मार्ग र मानव कल्याणको बाटोमा हिँड्न प्रेरित गरिरहेको छ ।” नेपालको लुम्बिनी बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गम थलो भएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यस स्थललाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र एवम् उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गरी विश्वभरका बौद्ध मार्गीहरूलाई नेपाल भित्र्याउन सके देशको आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रको विकासमा ठूलो योगदान हुन सक्ने बताउनुभयो ।
उहाँले बुद्धको दर्शन, उहाँले दिनुभएको शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु बुद्धप्रतिको साँचो सम्मान हुने उहाँले उल्लेख गर्नुभएको छ । त्यसैगरी किरात समुदायको महान पर्व उभौलीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सो पर्वले सांस्कृतिक एवं सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।


















