पोखरा(कास्की), ११ जेठ(एजेन्सी) । त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ दोस्रो जित निकालेको छ। विभागीय डर्बीमा आर्मीले नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हरायो।
आजको अन्तिम खेलमा आर्मीले एपिएफलाई २५-१३, २५-२० र २५ -२२ मा माथ दियो। चौथो खेलमा दोस्रो जितका साथ आर्मीले ५ अंक बनाएको छ। चार खेलमा १ जित र तीन हार सहित एपिएफसँग मात्र ३ अंक छ।
आजै गण्डकी प्रदेशले लगातार चौथो जित निकाल्दै फाइनल पुग्ने संभावनालाई मजबुत बनाएको छ। गण्डकीले मणिमुकुन्द भलिबल क्लबलाई सहजै ३-० ले हरायो। यो जितमा गण्डकीले हेल्प नेपालले जतिकै १२ अंक जोडे पनि सेट अन्तरको कारण लिग तालिकाको दोस्रो स्थानमा छ।
आजै हेल्प नेपालले २५-२१-२५-२० र २५-२२ को सोझो सेटको जित दर्ज गर्यो। लगातारको चौथो जितमा उसले १२ अंक बनाएको छ। हेल्प नेपाल लिग तालिकाको शीर्षस्थानमा रहेको छ। तेस्रो हार बेहोरेको कोशीसँग मात्र ३ अंक रहेको छ। उसले एक खेले जितेको थियो।
त्यसअघि नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। पुलिसले खेलमा एकपक्षीय दबाब बनायो। टोलीले २५-१९, २५-९ र २५-१९ को सहज जित आफ्नो पक्षमा पार्यो। पुलिसको यो दोस्रो जित हो।
नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।


















