Prakash Adhikari May 25, 2025

पोखरा(कास्की), ११ जेठ(एजेन्सी) । नवौं पीएम कप एनभिए लिग अन्तरगत आइतवार सम्पन्न खेलमा महिलातर्फ  पुलिस र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले लगातार तेस्रो जित हात पारेका छन्। पुलिसले एपिएफलाई ३-१ ले हरायो। यो जितमा पुलिस अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

पहिलो सेट पुलिसले २५-१९ ले जित्यो। तर दोस्रो सेट भने २४-२६ ले गुमाउन पुग्यो। दोस्रो सेटको समाप्तीमा खेल १-१ को बराबरीमा पुग्यो। तर एपिएफले दोस्रो सेटको लयलाई निरन्तरता दिन सकेन।

पुलिसले तेस्रो सेट २५-१८ र चौथो सेट २५-२१ जित्दै खेल आफ्नो पक्षमा पार्यो। ९ अंक सहित पुलिस शीर्षस्थानमा उक्लिएको छ। एपिएफसँग ६ अंक छ। तेस्रो खेलमा उसको यो पहिलो हार हो।

पहिलो खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ ले माथ दियो। पहिलो सेट गुमाएर पनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको छ । न्यु डायमण्ड २१-२५,२५-१४,२५-२१,२५-२१ ले विजयी भयो।

लगातार ३ जितपछि ९ अंकसहित न्यु डायमण्ड अंक तालिकाको दोस्रो स्थानमा छ। न्यु डायमण्ड सेटको आधारमा दोस्रो स्थानमा छ। आर्मी लगातार तेस्रो खेलमा पराजित भएको छ ।

नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ।

Share Now