जयपुर(राजस्थान), १३ जेठ(एजेन्सी) । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत सोमबार राति भएको खेलमा मुम्बई इण्डियन्सलाई पराजित गर्दै पञ्जाब किंग्स् पहिलो क्वालिफायरमा पुगेको छ।
पञ्जाबले मुम्बई इण्डियन्सलाई ७ विकेटले हराउँदै शीर्ष २ मा रहेर लिग चरणको अन्त्य गरेको छ।
१ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा सो लक्ष्य हासिल गरेको हो।
खेलमा पञ्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए। प्रियान्सले ३५ बलमा ९ चौका र २ छक्काले ६२ रन बनाए।
जोसले ४२ बलमा ९ चौका र ३ छक्काका साथ टोलीका लागि सर्वाधिक ७३ रन जोडे। प्रभासिमरन सिंहले १३ रन बनाए ।
कप्तान श्रेयस एय्यरले १६ बलमा १ चौका र २ छक्कासहित नटआउट २६ रन बनाए। नेहाल बादेराले नटआउट २ रन जोडे। मुम्बईका मिचेल सान्टनेर २ र जसप्रति बुमराहले १ विकेट लिए।
राजस्थानको जयपुरमास्थित सवाइमान सिंह क्रिकेट स्टेडियममा त्यसअघि टस जितेर पञ्जाबले फिल्डिङ रोज्यो । पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रनको बनाएको थियो।
मुम्बईका सूर्यकुमार यादवले अर्धशतकको योगदान गरे।सूर्यकुमारले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५७ रन जोडे । कप्तान हार्दिक पाण्ड्याले १५ बलमा २ चौका र २ छक्कासहुत २६ रन जोडे ।
ओपनर रायन रिकल्टन २७ तथा अर्का ओपनर रोहित शर्मा २४ रनमा आउट भए । विल ज्याक्स ८ बलमा १७, नमन धिरले १२ बलमा २० आउट भए ।
पञ्जाबका मार्को यानसन, अर्शदिप सिंह र विजयकुमार वैशाखले समान २ तथा हरप्रित ब्रारले १ विकेट लिए ।
लिग चरणको अन्तिम खेल मंगलवार रोयल च्यालेन्जर्स बैगलुरु ९आरसिबी० र लखनउ सुपर जायन्ट्सबिच हुनेछ।
त्यो खेल जितेमा आरसीबी पहिलो क्वालिफायरमा पुग्नेछ । पराजित भएमा दोस्रो स्थानको गुजरात पहिलो क्वालिफायरमा पुग्नेछ। मुम्बईले एलिमिनेटर खेल्नु पर्नेछ।


















