काठमाडौं, १३ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारी पनि जोडिएपछि उहाँले राजीनामा दिनुपर्ने माग संसद्मा प्रवेश गरेको छ।
मङ्गलवार प्रतिनिधिसभाको बैठकको सुरुमा बोल्दै माओवादी केन्द्रका सांसद वर्षमान पुनले सो प्रकरणमा अनुसन्धान गर्न गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा व्यक्त गरे। “कुनै राजनीतिक संक्षणबिना सम्भावना हुन सक्ला र !” उक्त प्रकरणप्रति इङ्गित गर्दै पूर्वअर्थमन्त्री पुनले भन्नुभयो।
पुनपछि आफ्ना कुरा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वशिक्षामन्त्री शिशिर खनालले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को नियमित प्रक्रिया अगाडि बढ्न नदिने बताउनुभयो।
विभिन्न अनुसन्धान निकायहरू गृह मन्त्रालयमातहत पर्ने भएकाले गृहमन्त्री पदमा रहुन्जेल निष्पक्ष छानबिन हुनेमा आफूहरूलाई आशङ्का रहेको उहाँले टिप्पणी गर्नुभयो ।
“प्रश्न उठिसकेपछि गृहमन्त्रीको राजीनामा आउनुपर्छ”, खनालले भन्नुभयो, “संगठित ढङ्गले गरिएको भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ। सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण हेर्ने गरी छानबिन गर्न एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद् चल्न सक्दैन।”
आधा घण्टाका लागि स्थगित
रास्वपाका सांसद खनाल बोलेपछि सभामुख देवराज घिमिरेले बोल्ने समय सत्तारूढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई दिनुभयो।
तर उहाँले बोल्न थालेपछि प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गर्न थाले।
घिमिरेले प्रतिपक्षी सांसदहरूका कुरा आफूहरूले सुनेकाले उनीहरूले पनि आफ्ना कुरा सुन्नुपर्ने बताइरहे पनि नाराबाजी रोकिएन।
त्यसपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभयो।
संसद्अघि प्रतिपक्षी बैठक
दुई ठूला प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग यसअघि औपचारिक रूपमै गरिसकेका छन्।
“भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ र सो विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्छ भन्ने हाम्रो माग हो”, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भन्नुभयो । “हाम्रा मागलाई सरकारले कसरी लिन्छ त्यसमा हाम्रो भावी कदम निर्भर गर्ने छ”, प्रतिनिधिसभा बैठकअघि उहाँले भन्नुभयो।
सो मागलाई लिएर प्रतिपक्षी दलहरूले अवरोध पुर्याएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
मङ्गलवारको प्रतिनिधिसभा बैठकअघि पनि माओवादी केन्द्र, रास्वपा, लोकतान्त्रिक समाजवादी पार्टीको बैठकले गृहमन्त्रीको राजीनामाको माग संसद्मा उठाउने निर्णय गरेको थियो।
प्रतिरक्षा
हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा काठमाडौं विमानस्थलका अध्यागमन प्रमुख रहेका तीर्थराज भट्टराईसहित उक्त प्रकरणमा संलग्न रहेको आरोप लागेका पाँच जनामाथि अनुसन्धान गरिरहेको छ।
सो प्रकरणमा संलग्नताबारे गृहमन्त्री र गृह मन्त्रालय दुवैले आफ्नो प्रतिरक्षा गर्दै आएका छन्। लेखकको दल नेपाली कांग्रेसले पनि उनको पक्षमा उभिएको छ।
पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले भिजिट भिसाको विषयमा मात्र नभएर आफ्नो सार्वजनिक, राजनीतिक जीवनमा यदि ‘एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु’ उ भन्नुभएको थियो।
सोही दिन गृह मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै काठमाडौं विमानस्थलको अध्यागमनसँग जोडिएको घटनालाई उद्धृत गर्दै ‘त्यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको’ दाबी गरेको थियो।


















