Prakash Adhikari May 31, 2025

काठमाडौँ, १६ जेठ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रजातान्त्रिक संस्कार र मूल्य मान्यता स्थापित गर्न फेरि सङ्घर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ बागमती प्रदेश कार्यसमितिले शुक्रवार राजधानीमा आयोजना गरेको सम्मान एवं प्रजातन्त्र सेनानी तुलसीनारायण खमु श्रेष्ठको ‘जीवनगाथा’ नामक पुस्तक लोकार्पण गर्दै उहाँले प्रजातान्त्रिक संस्कारका विषयमा बोल्दा खोट देखाउन खोजिनु गलत भएको बताउनुभयो ।

“बिपी, गणेशमान र कृष्णप्रसादको आचरणलाई फेरि हामीले कांग्रेसमा पुनस्र्थापना गराउनुपर्ने आवश्यकता छ,” नेता कोइरालाले भन्नुभयो । कांग्रेस सरकारमा भए पनि गलत कुराको विरोध गर्न नसके लोकतन्त्र सुरक्षित हुन नसक्ने उहाँको भनाइ छ ।

गलत कुराको विरोध गर्न नसक्नेहरु बिपीको अनुयायी हुन नसक्ने बताउँदै उहाँले गलत कुरा टुलुटुलु हेरेर बस्नेहरू दास मानसिकताको उपज भएको उल्लेख गर्नुभयो । आचरण लोकतान्त्रिक गणतन्त्रात्मक नभएकैले अहिले राजावादीलगायत विभिन्न नाममा आन्दोलन भइरहेकाले लोकतान्त्रिक मूल्य मान्यताका आचरण अनुसरण गरी यो अवस्थालाई सुधार गर्न सकिने नेता कोइरालाले बताउनुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाका लागि लडेका प्रजातन्त्र सेनानीहरूको अभिलेख राखिनुपर्ने बताउनुभयो ।

उहाँले प्रजातन्त्रका लागि लडेका सेनानीको अभिलेख कतै पनि नपाइनु दुःखद् भएको बताउनुभयो ।

“वास्तविक अभिलेख नभएकै कारण प्रजातन्त्र सेनानीको सूची माग्दा आधिकारिक संस्थाबाटै पञ्चायतमा लागेर काम गरेकाको पनि नाम आउने गरेको छ, कांग्रेसलाई जरा गाड्ने अवस्थामा पुर्याउने प्रजातन्त्र सेनानीकै अभिलेख नभएकाले प्रजातन्त्रका लागि काम गरेकाको सूची तयार पारी राख्नुपर्छ”, कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले भन्नुभयो ।

प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले कांग्रेसले प्रजातन्त्र सेनानीलाई बिर्सन नहुने बताउँदै सर्वाधिकार सम्पन्न प्रजातन्त्र सेनानी आयोग गठन गरिनुपर्ने बताउनुभयो । कांग्रेसभित्र प्रजातन्त्र सेनानीलाई आरक्षणको व्यवस्था गरिनुपर्ने माग पनि उहाँको थियो । आगामी निर्वाचनमा अहिलेसम्म अवसर नपाएका ८० प्रतिशतलाई कांग्रेसले टिकट दिनुपर्ने माग पनि प्रजातन्त्र सेनानी सङ्घले गरेको छ ।
अध्यक्ष दाहालले कांग्रेस नेता डा शेखर कोइराला र केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेललाई मागपत्र पनि प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय ध्यानगोविन्द रञ्जित र टेकप्रसाद गुरुङ, कांग्रेस नेता दामोदर गौतम, प्रजातन्त्र सेनानी सङ्घका महामन्त्री गोपाल गिरी, प्रजातन्त्र सेनानीहरु तुलसीनारायण खमु श्रेष्ठ, मना थापा, गोविन्दप्रसाद गजुरेल, विनोद सिलवाललगायतले प्रजातन्त्र सेनानीले विगतमा गरेका योगदानको अभिलेख राखिनुपर्नेमा जोड दिनुभएको थियो ।

तुलसीनारायण खमु श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘जीवनगाथा’का बारेमा समीक्षात्मक मन्तव्य व्यक्त गर्नुहुँदै ब्रिलियन्ट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दुर्गाप्रसाद नेपालले पुस्तकमा प्रजातन्त्रका लागि श्रेष्ठले गरेको योगदानको चर्चा गरिएको जानकारी गराउनुभयो । विसं २००७ देखि २०८१ सम्म तुलसीनारायणले नेपाली कांग्रेस पार्टीका साथै सामाजिक क्षेत्रमा गरेका योगदानका विषयमा उल्लेख गरिएको पनि उहाँले बताउनुभयो ।

पुस्तकका सम्पादक कुमार रञ्जितले एक सय ५० पृष्ठको पुस्तक कांग्रेसको इतिहासका रूपमा आएको बताउनुभयो । प्रजातन्त्र स्थापना एवं पुनस्र्थापनाका लागि श्रेष्ठले पुर्याउनुभएको योगदानका विषयमा पनि पुस्तकमा चर्चा गरिएको उहाँले बताउनुभयो । छ खण्डमा विभाजित पुस्तकले नेपालको राजनीतिक इतिहासको करिब सात दशकभन्दा लामो समयको यथार्थता सार्वजनिक गरेको बताउनुभयो । सो अवसरमा बागमती प्रदेशका १३ जिल्लाका १०० जना प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो ।

Share Now