Prakash Adhikari June 1, 2025

 

इडेनवर्ग ( स्कटल्यान्ड) १७ जेठ । नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको दोस्रो अभ्यास खेल नतिजाविहीन भएको छ ।

शनिबार स्कटल्याण्डमा दोस्रो इनिङमा निरन्तर वर्षा भए पछि खेल नतिजाबिहिन हुन पुगेको हो । पहिलो अभ्यास खेलमा लज्जास्पद प्रदर्शन गरेको नेपालले दोस्रो अभ्यास खेलमा भने सुधारिएको प्रदर्शन गरेको थियो ।

२ सय ५४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ‘ए’ ले १३ ओभरमा ३ विकेट गुमाउँदै ६४ रन बनाएकाे अवस्थामा वर्षा सुरू भएको थियो । वर्षा भारी बन्दै गएपछि खेल नतिजाविहीन रुपमा सकिएको हो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै २ सय ५३ रन बनाएको थियो । पहिलो खेलमा लज्जास्पद ब्याटिङ गरेको नेपालका लागि यस खेलमा कप्तान रोहितकुमार पौडेलसहित तीन खेलाडीले अर्धशतक प्रहार गरेका थिए ।

गुलशन झाले ४७ बलमा ३ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ६४ रन बनाए । कप्तान रोहितले ७० बलमा ५ चौका र १ छक्काको सहयोगमा ६१ रन बनाए । भीम सार्की ५७ बलमा ७ चौका र १ छक्कासहित ५७ रनमा आउट भए । ओपनर कुशल भुर्तेल ३१ रनमा आउट हुँदा सन्दीप लामिछाने १७ रनमा अविजित रहे ।

स्कटल्यान्ड ‘ए’ का जेम्स डकिनसन, मैन र डेभिडसनले समान २ विकेट लिए । पहिलो खेलमा नेपालले १ सय २ रनको  हार बेहोरेको थियो ।

अब ध्यान भोलिदेखि हुने लिग २ का खेलमा

अब नेपाली टिमको ध्यान भोलिदेखि हुने लिग २ का खेलमा केन्द्रित भएको छ ।

लिग टु काे चौथो राउण्डमा नेपालले घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्ड्सको सामना गर्दैछ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज समेत हो । यस सिरिजका क्रममा हरेक टोलीले हरेकसँग ३ खेल खेल्नेछ ।

लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउँने छन् ।

नेपाल १२ खेलमा ६ अंकका साथ लिगको पुछारमा रहेको छ । चौथो राउण्डमा नेपालसँग खेल्ने स्कटल्याण्ड १६ खेलमा २० अंकका साथ चौथो स्थानमा छ । नेदरल्याण्ड्स भने २० खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ ।

लिग टुको चौथो राउण्डमा नेपालको खेल तालिका यसप्रकार छ :

१) जेठ १९(जुन २) गते सोमबार स्कटल्याण्डविरुद्ध
२) जेठ २१(जुन ४) गते बुधबार नेदरल्याण्ड्सविरुद्ध
३) जेठ २५(जुन ८) गते आईतबार स्कटल्याण्डविरुद्ध
४) जेठ २७(जुन १०) गते मंगलबार नेदरल्याण्ड्सविरुद्ध

लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतबारबाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

नेपाली टोली

रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी

Share Now