एडेनवर्ग(स्कटल्याण्ड), १९ जेठ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा नेपाली अलराउण्डर करण केसी चम्केपछि घरेल टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जित निकालेको छ ।
स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्यो । २ सय ९७ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा एक बल बाँकी रहँदै पूरा गर्यो ।
अन्तिम बलमा नेपालको जितका लागि एक रन आवश्यक रहेको थियो । अन्तिम बल मार्क वाटले वाइड गरेपछि नेपालले रोमाञ्चक जित हासिल गरेको हो ।
नेपालको जितमा करण केसीले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रनको योगदान गरे । ओपनर कुशल भुर्तेलले अर्धशतक बनाए । कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे ।
कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । आसिफ ३३ बलमा २ चौकाको सहयोगमा २० रनमा आउट भए ।
खेलमा गुलशनकुमार झाले ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन जोडे । भीम सार्कीले ४८ बलमा ३ चौकाको सहयोगमा ४० तथा कप्तान रोहितकुमार पौडेलले ५६ बलमा ३७ रनको योगदान दिए ।
१ सय ५२ रनमा २ विकेट गुमाएको नेपाल बीचमा सम्हालिन नसक्दा अप्ठ्यारो स्थितिमा पुगिसकेको थियो । नेपाललाई रोक्ने क्रममा स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलानले तीन, माइकल लिस्क र ज्याक जार्भिसले समान दुई दुई तथा जसपर डेभिडसनले एक विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रनको योगफल तयार गरेको थियो ।
स्कटल्याण्डका लागि चार्ल्स टेयर्सले सर्वाधिक ८० रन जोडे । नेपालका तीव्र गतिका बलर करण केसीले ८० रनमा खेलिरहेका उनलाई विकेट किपर आसिफ शेखबाट क्याच आउट गराएका थिए ।
फेन्ली म्याक्रिथ ५५ रनमा आउट भए । सोमपाल कामीको बलमा आउट भए ।
कप्तान रिची बेरिङ्टन ४० रनमा आउट भए । कप्तान बेरिङ्टन करणकै बलमा विकेट किपर आसिफबाट समातिए ।
म्याथ्यु क्रस ३९ रनमा आउट भए । क्रस सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । माइकल लिस्क १८ रन जोड्दै आउट भए । लिस्क रिजन ढकालको बलमा भीम सार्कीबाट क्याच आउट भए ।
ब्रेण्डन मक्कमुलनले १९ रन जोडे । उनी नेपालका तीव्र गतिका बलर सोमपाल कामीको बलमा बासिर अहमदबाट क्याच आउट भए ।
नेपालले पहिलो विकेटका रुपमा स्कटल्याण्डका ओपनर जर्ज मुन्सीलाई आउट गराएको थियो । मुन्सी रिजन ढकालको बलमा १२ रनमा आउट भएका थिए । उनी सोमपाल कामीबाट समातिएका थिए ।
नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।
जितसँगै ८ टोली सहभागी लिग टु मा नेपाल १३ खेलमा ८ अंकका साथ सातौं छ । पराजित स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ ।
विश्वकप लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
यस त्रिकोणात्मक सिरिजमा नेपाल र स्कटल्याण्ड अलावा नेदरल्याण्ड्सको समेत सहभागीता रहेको छ । नेपालले अब जेठ २१ (जुन ४) गते बुधवार नेदरल्याण्ड्सविरुद्ध , जेठ २५(जुन ८) गते आइतवार स्कटल्याण्डविरुद्धजेठ २७(जुन १०) गते मंगलवार नेदरल्याण्ड्सविरुद्ध खेल्ने छ ।


















