काठमाडौं, २१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रकाश यादवले जातीय छूवाछुत तथा विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिंदै संविधानको भावना अनुरुप यो विभेदको अन्त्य गर्न सबैमा आग्रह गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउनुभएको छ ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपतिले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो भन्नुभएको छ ।
सन्देशमा उहाँले सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछूत तथा विभेदविरूद्ध दृढतापूर्वक उभिदैँ लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
छुवाछूत तथा विभेदविरूद्ध लाग्न राष्ट्रपतिले सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनवटै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाज र सञ्चारकर्मीलाई अझ बढी संवेदनशील हुन आह्वान गर्नुभएको छ ।
“नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गििक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ,” सन्देशमा भनिएको छ ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका विभेद तथा उत्पीडनको क्रमशः अन्त्यका लागि महत्वपूर्ण आधार निर्माण गर्न सम्बन्धित निकायहरूलाई प्रेरणा दिने विश्वास पनि राष्ट्रपतिले सन्देशमा व्यक्त गर्नुभएको छ ।
सोच, शैली, प्रथा एवं सामाजिक प्रचलन तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याई आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धिबाट सामाजिक व्यवहारमा रहेको जातीय भेदभाव तथा छुवाछूतजन्यलाई घटाउन सकिने विचार व्यक्त गर्दै राष्ट्रपति पौडेलले सन्देशमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसबाट सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
छुवाछूत उन्मूलन गर्न सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता छः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन गर्न भएका ऐन÷कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता औँल्याउनुभएको छ ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “जातीय भेदभाव तथा छुवाछूत, समाज र देशको विकासमा अवरोध सिर्जना गर्ने प्रमुख समस्या भएकाले संवैधानिक र कानुनी व्यवस्था, सामाजिक सचेतना र नागरिक सक्रियताको माध्यमबाट यसलाई उन्मूलन गर्न सबैको अग्रसरताको खाँचो छ ।”
उपराष्ट्रपति यादवले जातीय भेदभाव र छुवाछूत उन्मूलनमा हरेक नागरिकको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै भेदभावयुक्त विचारको विरोध, समावेशी समाजको निर्माण, समानता र न्यायका लागि आवाज बुलन्द गर्नु र छुवाछूत विरुद्धको कानूनको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्नु हरेक नागरिकको दायित्व, कर्तव्य र भूमिका भएको बताउनुभयो ।
“त्यसका लागि शिक्षा र सचेतना, सकारात्मक पहल, समान अवसर, नागरिक समाजको सक्रियता जरुरी छ, जातीय समानताबारे विद्यालय तथा समुदायस्तरमा शिक्षाको प्रवर्द्धन, सरकारी तथा निजी क्षेत्रबाट समावेशी नीतिहरुको कार्यान्वयन उत्तिकै आवश्यक छ, नीति निर्माण तथा सरकारी सेवामा उपेक्षित वर्गको सहभागिताको सुनिश्चिततालाई आत्मसात गर्दै सामाजिक संस्था तथा अभियानहरुबाट जातीय विभेद र छुवाछूतको उन्मूलनको प्रयास सक्रियताका साथ गर्न सक्नुपर्दछ”, उहाँद्वारा जारी सन्देशमा भनिएको छ ।
नेपालको संविधानको धारा २४ मा यसलाई जातीय छुवाछूत तथा भेदभाव विरुद्धको हकका रुपमा परिभाषित गर्दै दण्डनीय अपराध भनेको छ । संविधानको यसै धाराको उपधारा (१) मा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन भन्ने प्रष्ट उल्लेख छ । कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरिद वा प्राप्त गर्नबाट रोक लगाइने वा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री वितरण वा प्रदान गरिने छैन भन्ने व्यवस्था हाम्रो संविधानमा छ ।
नेपालको संविधानमा उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न नपाइने व्यवस्था छ । जातीय आधारमा छुवाछूत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न पाइने छैन भन्ने विषय प्रष्ट रुपमा संविधानमा उल्लेख छ । संविधानको धारा २४ को प्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रुपमा कानुन बमोजिम दण्डनीय हुनेछन् भनिएको छ ।
उहाँले भन्नुभएको छ, “समानता, सम्मान र समावेशिताले मात्र नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ, सबल र उन्नत बनाउन सकिन्छ ।”
विसं २०६३ जेठ २१ गते सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का रूपमा मनाउन थालिएको हो ।


















