Prakash Adhikari June 4, 2025

 

एडेनवर्ग(स्कटल्याण्ड), २१ जेठ । आइसीसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्सले नेपालसामु २ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

स्कटल्याण्डको डुन्डीमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २ सय २५ बनाउदै अल आउट भयो ।

नेदरल्याण्ड्का लागि नोहा कोर्सले ५५ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए । आठौं विकेटका लागि कोर्स र रोलेफ भान डर मिर्वोले ५५ रनको साझेदारी गर्दै टोलीलाई मध्यम योगफल सम्म पुर्याए । सोमपालले कोसलाई आउट गरे भने मिर्वो करन के.सी.को बलमा २१ रन बनाएको अवस्थामा रन आउट भए । उनीसंगै नेदरल्याण्ड्सको नवौं विकेट पतन भयो ।

त्यसपछि ब्याट सम्हालेका भिभियन किंग्मा सोमपाल कामीको बलमा एक रन जोडेको अवस्थामा आउट भएपछि नेदरल्याण्ड्स २ सय २५ रनमा समेटिन पुगेको हो ।

नेदरल्याण्ड्सको लागि कप्तान स्कट एडवार्डसले ७१ बलमा ४ चौकाको सहयोगमा ४६ रन जोडे । उनी ललित नारायण राजवंशीको बलमा रोहित पौडेलबाट समातिए ।

ज्याक लायन ३४ बलमा २७ रन बनाउँदै ललितको बलमा आउट भए । तेजा निदामनुरु २९ बलमा १३ रनमा सन्दीप लामिछानेको बलमा आउट हुन पुगे ।

खेलम सन्दीप लामिछानेले तेस्रो विकेटका रुपमा नेदरल्याण्ड्सले विक्रमजित सिंहलाई ३८ रनमा आउट गराए । दोस्रो विकेट लिएको १ सय १ बल पछि नेपालले तेस्रो सफलता पाएको थियो । सिंहले कप्तान एडवार्डससँग मिलेर तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी नेपालका उत्कृष्ट बलर सन्दीप लामिछानेले तोडेका थिए ।

उत्कृष्ट सुरुवात गरेको नेपाल ५ ओभर भित्र नेदरल्याण्ड्सको २ ओपनरलाई आउट गरिसकेको थियो । नेपालले नेदरल्याण्ड्सका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गरेको थियो ।

पहिलो विकेटका रुपमा इनिङको दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई १ रन जोडेको अवस्थामा आउट गराए ।

नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर म्याक्स ओ डाउडलाई करन के.सी. को बलमा नेपालले ४ रनमा आउट गरायो । पाँचौ ओभरको पाँचौ बलमा म्याक्स बोल्ड आउट भएका थिए।

नेदरल्याण्ड्सलाई रोक्ने क्रममा नेपालका लागि सोमपालले ३ तथा करण, ललित र सन्दीपले समान २ विकेट लिए ।

पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाल जितको लयलाई निरन्तरता दिन चाहेको छ । यस सिरिजको पहिलो खेल खेल्दै गरेको नेदरल्याण्ड्स पनि सुखद सुरुवातको अपेक्षामा छ ।

नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा ५ भेट भएको छ । जसमा नेदरल्याण्ड्स ३ तथा नेपाल २ खेलमा विजयी भएका छन्। ८ टोली सहभागी लिग टु ओडीआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।

नेपाल १३ खेलमा ८ अंकका साथ लिगको सातौं स्थानमा छ भने नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।

Share Now