Prakash Adhikari June 5, 2025

 

 

हङकङ (चीन), जेठ ।  एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध खेलको तयारीका लागि नेपाली टोली अहिले हङकङमा छ । नेपालले विहीबार साँझ ५:४५ बजे मैत्रीपूर्ण खेलमा हङकङसँग खेल्दैछ ।

मुख्य प्रशिक्षक म्याट रसले खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा टोली खेलका लागि तयार रहेको बताएका छन् । रसले हङकङलाई नजिकबाट नियालेको र विपक्षीको अवस्था राम्रो भएपनि आफूहरुले पछिल्लो करिब एक महिना कडा मेहनत गरेका उल्लेख गरे ।

‘लाओसविरुद्ध खेलअघि यसप्रकारको मैत्रीपूर्ण म्याच खेल्नुले सकारात्मक उर्जा दिएको छ । हामीले यस मैत्रीपूर्ण खेलमा देखिने कमजोरीलाई लाओसविरुद्ध सुधार्ने अवसर पाउनेछौं । यो सुखद पक्ष हो,’ रसले बताए । उनले हाइ अल्टिच्युडमा केही समय अभ्यास गरेको बताउँदै उनले टोली आगामी दुई खेलका लागि पूर्णरुपमा तयार रहेको प्रष्ट पारे ।

प्रि म्याच क्रन्फ्रेन्समा टोलीका कप्तान किरण चेम्जोंगले मैत्रीपूर्ण मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत राम्रो तयारी गरेको बताए । ‘हामी विपक्षीलाई सम्मान गर्छौ। तर पाहुनाका रुपमा हामी भोली हुने खेलका लागि तयारीमा रहेका छौं । राम्रो नतिजाको आशा छ,’ किरणले भने ।

विहीबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले बुधबार बेलुका अन्तिम अभ्यास गरेको छ । स्थानीय टोलीले भने यसै मैदानमा केही दिनअघि इंगलिश टोली म्यानचेष्टर युनाइटेडसंग ३-१ को पराजय भोगेको थियो । हङकङ फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ । नेपाल भने १ सय ७५ औं स्थानमा छ ।

Share Now