Prakash Adhikari June 6, 2025

एन्थनी जर्कर
उत्तर अमेरिका संवाददाता

के हुन्छ होला जब संसारकै सबभन्दा धनी अनि संसारकै सबभन्दा शक्तिशाली व्यक्तिबीच कटुता अनि सामाजिक सञ्जालमार्फत् बाझाबाझ हुन्छ?

संसारले यसको जबाफ अब पाउँदैछ – र त्यो खासै राम्रो देखिँदैन। डोनल्ड ट्रम्प र इलोन मस्कसँग आफ्नो कुरा राख्ने सबभन्दा विशाल माध्यमहरू छन्।

अब उनीहरू एकअर्का विरुद्ध खनिएका छन्।

विमतिहरू वाकयुद्धमा परिणत भएका छन्।

 

ट्रम्पले दिए यस्तो धम्की?

सङ्घीय अमेरिकी सरकारका कामहरूबाट मस्कको कम्पनीलाई हटाइदिने ट्रम्पले धम्की दिएका छन्। ती काम मस्कको स्पेसएक्स कार्यक्रमका निम्ति आधारस्तम्भ हुन्।

“हाम्रो बजेटमा अर्बौँ पैसा जोगाउने सबभन्दा सरल उपाय भनेको इलोनले पाइरहेको सरकारी ठेक्का तथा अनुदान रद्द गरिदिनु हुने छ,” ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा धम्कीपूर्ण भाषामा लेखेका छन्।

यदि ट्रम्पले सरकारी संयन्त्रलाई मस्कका विरुद्ध परिचालन गरे भने यी अर्बपति प्रविधि कम्पनीका मालिकलाई अवश्य पीडा हुनेछ। बिहीवार उनको कम्पनी टेस्लाको शेयर मूल्य १४% ले घट्यो।

तर पीडा एकतर्फीमात्र चाहिँ हुने छैन।

मस्कले गरे ट्रम्पलाई महाभियोग लगाउने आह्वान

ट्रम्पको धम्कीपश्चात् मस्कले उनलाई महाभियोग लगाउन आह्वान गरे अनि हिम्मत भए आफ्नो कम्पनीलाई प्राप्त सरकारी अनुदान हटाइदिन भने।

साथै उनको कम्पनीको ड्र्यागन स्पेसक्राफ्टलाई फिर्ता गर्ने कार्य तेज बनाउने पनि चेतावनी दिए। अमेरिकी अन्तरिक्षयात्रुहरूलाई ओसारपसार गर्न र इन्टर्न्याशनल स्पेस स्टेशनमा आपूर्ति गर्न अमेरिका सो स्पेसक्राफ्टमा निर्भर छ।

मस्कसँग ट्रम्पलाई जबाफ दिन असीमित स्रोत छन्। उनले आगामी वर्ष हुने संसदीय तथा प्राइमरी चुनावहरूमा ट्रम्पविरोधी उम्मेदवारहरूलाई आर्थिक सहयोग दिन सक्छन्।

अनि बिहीवार अबेर उनले ट्रम्पका विरुद्ध ‘ठूलो बम’ खसाल्न लागेको भन्दै विना प्रमाण दिवंगत यौन अपराधी जेफ्रे एप्स्टिनका हालसम्म सार्वजनिक नभएका फाइलहरूमा ट्रम्पको नाम पनि रहेको आरोप लगाए।

ट्रम्पकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले मस्कले लगाएको आरोपको हलुका प्रतिवाद गरिन्।

“इलोनबाट भएको यो दुर्भाग्यपूर्ण काम हो। उनले चाहेको नीति नसमेटिएका कारण उनी ‘वन बिग ब्युटिफुल बिल’सँग असन्तुष्ट थिए,” लेभिटले भनिन्।

ट्रम्पले अघि सारेको अनि ‘विशाल र सुन्दर’ संज्ञा दिएको विधेयकले सरकारी बजेट घाटा चर्कने भन्दै मस्कले त्यसलाई घिनलाग्दो भनेर केही दिन अगाडि टिप्पणी गरेपछि दुईबीचको विमति उजागर भएको थियो।

करिब चार महिना डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिअन्सी (डोज) हाँकेका मस्कले अर्बौ डलर खर्च कटौती गरिदिएको दाबी गरेका थिए र गत सातामात्रै उक्त अभियानबाट उनको बहिर्गमन हुँदा ट्रम्पले उक्त कार्यलाई प्रशंसा गरेका थिए।

अब के होला?

ट्रम्पको सम्पूर्ण प्रशासनका विरुद्ध मस्कले जित्न त नसक्लान् तर उनको कदमका कारण ट्रम्प र रिपब्लिकन पार्टीले चर्को राजनीतिक – अनि व्यक्तिगत – मूल्य चुकाउनु पर्ने हुन सक्छ।

यो जानेरै होला सायद ट्रम्पले बिहीवार अबेर भएको एक कार्यक्रममा मस्कबारे थप टिप्पणी गरेनन्। पछि ट्रुथ सोसलमा लेख्दै उनले मस्कले आफ्नो विरोध गरेकोमा खासै चित्त नदुखेको तर मस्कले महिनौँ अगाडि नै सरकारी सेवा छाडिदिएको भए हुने थियो भनेका छन्।

कर तथा खर्चसम्बन्धी आफ्नो ‘सुन्दर र विशाल’ विधेयकको उनले थप बचाउ गरे।

बिहीवारको चर्काचर्कीपछि दुवै पक्षका सामु सहज बाटो भने देखिँदैन।

रिपब्लिकनहरूलाई अब उक्त विधेयकको पक्षमा आफ्ना सबै सदस्यलाई एकजुट बनाइराख्न गाह्रो पर्न सक्छ किनभने त्यसका विरोधीलाई अब मस्कले हरकिसिमको सहयोग गर्लान्।

यसबीच डेमोक्र्याटहरू भने किनारामा बसेर सबै दृश्य हेरिरहेका छन्। आफ्नो दलका पूर्व आर्थिक सहयोगी मस्कलाई पुन: स्वागत गर्न थोरै मात्र इच्छुक देखिन्छन्। तर एउटा पुरानो उक्ति छ ‘दुस्मनको दुस्मन तिम्रो मित्र हो।’

जे होस् अहिलेलाई पछाडि बसेर यी दुईबीचको बाझाबाझ हेर्न डेमोक्र्याटहरूलाई आनन्द लागिरहेको देखिन्छ। यो झगडा नसकिएसम्म अमेरिकी राजनीतिमा अरू मुद्दा ओझेलमै पर्लान्।

अनि यो झगडा चाँडै साम्य हुने पनि देखिँदैन।

“राष्ट्रपतिका रूपमा ट्रम्पसँग अब साढे तीन वर्ष बाँकी छ,” मस्कले एक्समा लेखेका छन्, “तर म अझै ४० वर्षभन्दा बढ्ता यहीँ हुने छु।”

Share Now