Prakash Adhikari June 8, 2025

एडेनवर्ग(स्कटल्याण्ड) ५ जेठ । आइसीसी विश्वकप लिग टु को चौथो चरणको त्रिकोणात्मक सिरिजमा नेपालले आज स्कटल्याण्डसंग खेल्दै छ ।

आजको खेल स्कटल्याण्डको डन्डी स्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । त्यो खेलमा नेपालले निर्धारित ५० ओभरको १ बल बाँकी रहँदा २ सय ९७ रनको लक्ष्य पूरा गरेको थियो ।

स्कटल्याण्डसँग असम्भव जस्तै देखिएको खेलमा नेपाल विजयी भएको थियो। करण केसी चम्किदै ओडिआईमा पहिलो अर्धशतक बनाएपछि नेपालको विजय सुुनिश्चित सम्भव भएको थियो । गत साताको अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो।

सिरिजमा नेपाल र स्कटल्याण्डले दुवैको‌ यो तेस्रो खेल हो । स्कटल्याण्ड लगातार दोस्रो जितको खोजीमा छ । स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

चौथो चरणको त्रिकोणात्मक ओडीआई सिरिजमा नेपाली टोलीले चौथो तथा अन्तिम खेल मंगलवार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

८ टोली सहभागी लिग टु मा स्कटल्याण्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा छ । नेपाल १४ खेलमा १० अंकका साथ सातौं स्थानमा छ ।

सन् २०२७ सम्म चल्ने लिगको शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

नेपाली टोली

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी रहेका छन् ।

 

Share Now