एडेनबर्ग(स्कटल्याण्ड), २६ जेठ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तरगत स्कटल्याण्डसंग भएको दोस्रो खेलमा जितको संघारमा पुगेको नेपाल पराजित हुन पुगेको छ । तर यो खेल नेपालको लागि आत्मविश्वास बढाउने स्मरणयोग्य चाहिं रह्यो । यो प्रतिस्पर्धामा नेपालले ओडीआई इतिहासकै उच्च योगफल बनाएको छ ।
आइतवार राति घरेलु टोली स्कटल्याण्डले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा अल आउट हुँदै ३ सय २१ रन बनायो ।
यसअघि नेपाल २०२३ अप्रिलमा एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा ३ सय १० रनको योगफल थियो । नेपालले ओडीआईमा दोस्रो पटक मात्रै ३ सय रन कटाएको हो ।जुन पहिलोभन्दा उच्च हुन पुग्ये ।
स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित नजिक पुगेको नेपाल अन्तिम ओभरमा चुकेको थियो । नेपाललाई अन्तिम ६ बलमा जित्नलाई मात्रै ७ रन चाहिँदा २ विकेट बाँकी थियो ।
तीव्र गतिका बलर शफ्यान शरिफको बाउन्सर बलमा करण केसी तेस्रो बलमा आउट भएपछि जितेका लागि बाँकी ३ बलमा ५ रन चाहिँएको थियो । शरिफले त्यसपछि एक एक रन दिए । अन्तिम बलमा ३ रन चाहिँदा योर्करमा ललित राजवंशीलाई बोल्ड गर्दै नेपालको जित खोसिन पुग्यो ।
खेलमा नेपालको ब्याटिड.मा प्रदर्शन शानदार रह्यो । बलिड. कमजोर बनेकोले स्कटल्याण्डले ठूलो योगफल बनाउन पायो । नेपालका लागि भीम सार्कीले ७३, दीपेन्द्रसिंह ऐरीले ५६ र सोमपाल कामीले ६७ रन जोडेका थिए ।
नेपाललाई रोक्ने क्रममा स्कटल्यान्डका डेब्यू खेलाडी म्याकेन्जी जोन्सले ३, शफ्यान शरिफ र माइकल लिस्कले समान २ विकेट लिए ।
त्यसअघि फोर्थहिल डुन्डीमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन जोडेको थियो । कप्तान रिची बेरिंग्टनले १ सय २ रन, चाल्र्स टियरले ६८ र माइकल लिस्कले ९६ रन जोडेका थिए ।
लिस्कले तल्लोक्रममा ६२ बलमा १२ चौका र ३ छक्कासहित उक्त अविजित इनिङ खेलेपछि विशाल योगफल बनाएको थियो ।
नेपालका करण के.सी. र दीपेन्द्र ऐरीले समान २ । २ विकेट लिए ।
स्कटल्यान्ड भ्रमणमा यसअघि सुरुवाती दुई खेलमा नेपाल विजयी थियो । पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेट र नेदरल्याण्डलाई ५ विकेटले हराएको थियो ।
लिग २ मा नेपालले मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ । नेपाल लिग २ मा १५ खेलमा ४ जितसहित १० अंकका साथ सातौं स्थानमा छ ।
सन् २०२६ सम्म कुल ३६ खेल खेल्दा ८ देश सहभागी यस लिग २ मा शीर्ष चारमा रहन रहने टिमहरुले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । अन्य चार टिमले प्लेअफ खेल्नुपर्ने हुन्छ ।


















