Prakash Adhikari June 9, 2025

ललितपुर, २५ जेठ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा गलत कार्य गरेर अनुचित लाभ लिनेमाथि निर्मम भएर कारवाही गर्न निर्देशन दिनुभएको छ। नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले पुँजी बजारलाई सम्पूर्ण लगानीकर्ताको हितमा बनाउनुपर्ने भन्दै गलत काम गर्नेमाथि कसैको प्रभाव र दबाबमा नपरी कारवाही गर्न बोर्डलाई निर्देशन दिनुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले सेयर बजारमा हुने गरेको सेयर कर्नरिङ र इन्साइडर ट्रेडिङलाई निस्तेज पार्न त्यस्ता कार्य गर्नेमाथि बोर्डले कडा कारवाही गर्नुपर्ने बताउनुभयो । ‘सेयर बजार भनेको अर्थतन्त्रको ऐन हो भने यसलाई देशको अर्थतन्त्रको भविष्य हेर्न मिल्ने बनाउनुपर्छ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘अबका दिनका बोर्डले लगानीकर्ताको हित सुरक्षित गर्दै नयाँ नयाँ उपकरण ल्याएर पुँजीवजारको दायरा फराकिलो बनाउनु पर्छ ।’

कार्यक्रममा उहाँले सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई आफुले पनि गल्ती नगर्ने र यदि अरुले गल्ती गरेका भएमा निर्मम भएर कारबाही गर्न समेत निर्देशन दिनुभयो । सरकारले नेपालको पुँजी बजारको विकासलाई गुणात्मक रुपमा अघि बढाउन खोजेको जानकारी दिँदै नराम्रो काम गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोर्डका अध्यक्ष श्रेष्ठले पुँजी बजारलाई लगानीकर्ताको हित सुरक्षित गर्दै सबैले विश्वास गर्न सक्ने गरी अघि बढाउन लागेको जानकारी दिँदै यस विषयमा सबै सरोकारवालाहरुको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । साथै सरकारले पुँजी बजारको विकास र विस्तारमा लिएको नीतिलाई कार्यन्वयन गर्न बोर्ड दृढ रहेको समेत उहाँले जानकारी दिनुभयो ।

Share Now