लस एञ्जलस(क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका), २६ जेठ(बीबीसी) । क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा आप्रवासीहरूको धरपकड गरिएको विरुद्ध आयोजित विरोध प्रदर्शन लगातार तेस्रो दिन जारी रहँदा सहरको केन्द्रबाट हट्न प्रदर्शनकारीहरूलाई प्रहरीले आह्वान गरेको छ।
गाडीहरूमा आगजनी गरिएका छन् भने लुटपाटका विवरण पनि आएका छन्।
एक ब्रिटिश फोटोग्राफरलाई स्पोन्ज बुलेटले लागेपछि उलाई शल्यक्रिया आवश्यक भएको छ भने एक अस्ट्रेलियाली पत्रकारलाई गैरघातक प्रहार भएको छ।
गभर्नरको आरोप र ट्रम्पको जवाफ
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले न्याश्नल गार्डलाई खटाएर राष्ट्रपति डोनल्ड ट्रम्पले लस एन्जलसमा सङ्कट निम्त्याएको आरोप लगाउनुभएको छ।
अवैध आप्रवासीलाई धरपकड गर्न आप्रवासनसम्बन्धी अधिकारीहरूले कारबाही तीव्र पारेपछि भड्किएको दङ्गा गत राति पनि जारी रह्यो।
न्याश्नल गार्डको परिचालनलाई गभर्नर न्युसमले गैरकानुनी र अनैतिक कार्य भन्नुभएको छ । उहाँले ट्रम्प प्रशासनविरुद्ध मुद्दा हाल्ने धम्की दिनुभएको छ।
सामान्यतया गभर्नरको अनुरोधमा मात्र न्याश्नल गार्ड परिचालित हुन्छन्।
राष्ट्रपति ट्रम्पले चाहिँ कानुन व्यवस्था कायम गर्न तिनको परिचालन जरुरी भएको बताउनुभएको छ।
ट्रम्पको राजनीतिलाई फाइदाजनक
बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करले हाल लस एन्जलसमा देखा परेको अवस्था ट्रम्पको राजनीतिका लागि फाइदाजनक हुनसक्ने विश्लेषण गर्नुभएको छ। प्रस्तुत छ उहाँको समीक्षाः
गत वर्ष निर्वाचन प्रचारप्रसारका बेला डोनल्ड ट्रम्पले अमेरिकी सहरहरूमा उहाँले लेफ्ट विङ्हरूको अराजकता नसहने र राष्ट्रपतिको पूर्ण शक्ति त्यस्ता गतिविधिविरुद्ध लगाउने वाचा गर्नुभएको थियो।
अमेरिकाको आप्रवासनसम्बन्धी सङ्घीय निकाय इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई वा आइस)का कारबाहीविरुद्ध शनिवार राति क्यालिफोर्नियामा भएको विरोध प्रदर्शनले ट्रम्पलाई ठ्याक्कै त्यही वाचा पूरा गर्ने मौका दिएको देखिन्छ।
लस एन्जलस सहरको प्रहरीले ती प्रदर्शनहरू शान्तिपूर्ण भनिरहेको छ र स्थानीय प्रशासनले हिंसात्मक भएका केही झडप आफूहरूले नियन्त्रण गर्न सक्ने बताइरहेका छन्।
तर ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी अधिकारीहरूलाई निसाना गरिएको र घाइते बनाइएको भनेको छ अनि उसले स्थानीय निकायले ती प्रदर्शन रोक्न विलम्ब गरेको बताएको छ।
“घटनास्थलमा लस एन्जलस प्रहरीलाई घण्टौँ कुर्नुपर्ने अनि हाम्रा कोही अधिकारी खतरामा नपुगेसम्म उनीहरूले कुनै सहयोगी कारबाही नगर्ने जस्तो अवस्था सही होइन जब तपाईँका सामु हिंसात्मक प्रदर्शन भइरहेका हुन्छन्”, होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोअमले आईतवार सीबीएस न्यूजलाई भन्नुभयो।
लस एन्जलस प्रहरीले चाहिँ उसले सम्भव भएसम्म द्रुत गतिमा काम गरिरहेको अनि कुनै घटनाको जानकारी भएको ५५ मिनेटभित्र भिड नियन्त्रण गरिरहेको जबाफ दिएको छ।
ट्रम्पले दङ्गा भड्काउन खोजेको आरोप
क्यालिफोर्निया राज्यका गभर्नर गेभिन न्युसमले आपत्ति जनाउँदा जनाउँदै ट्रम्पले २ हजार क्यालिफोर्निया न्याशनल गार्डलाई सङ्घीय आदेश अनुसार परिचालन गरिदिनुभयो अनि रक्षामन्त्री पिट हेग्सेथले यूएस मरिनहरू परिचालनका लागि उच्च तहको सतर्कतामा राखिएको बताउनुभयो – यदि तिनको परिचालन भए त्यो एकदम दुर्लभ घटना हुनेछ जब स्वदेशभित्र नै सक्रिय सैनिक खटिने छन्।
स्थानीय समय आइतवार बिहानसम्ममा न्याशनल गार्डले शान्ति पुनर्बहाली गरेको भन्दै ट्रम्पले विजयको घोषणा गर्नुभयो जबकि ती गार्ड पूर्णतः भेला भइसकेकै थिएनन्।
गभर्नरले नचाहँदा नचाहँदै परिचालित न्याशनल गार्डले प्रदर्शनकारीलाई हटाउन अश्रुग्यास तथा रबरका गोली चलाएका छन्।
कारहरू अनि टायर बालिएका छन् भने दर्जनौँ पक्राउ परेका छन्।
ट्रम्पले प्रदर्शनकारीहरूलाई हिंस्रक, विद्रोही जत्था भन्नुभएको छ। तर गभर्नर न्यूसमले राष्ट्रपतिले तनाव भड्काएको आरोप लगाउँदै आफ्नो राज्यको सार्वभौमिकतामाथि दखल दिएको भन्नुभएको छ।
अमेरिकाभरिका विभिन्न राज्यका २२ जना डेमोक्र्याटिक गभर्नरहरूले गभर्नर न्यूसमलाई समर्थन गर्दै विज्ञप्ति जारी गरेका छन्।
ट्रम्प किन खुसी
जुन गतिमा ट्रम्पले प्रतिक्रिया जनाइरहनुभएको छ, त्यसले के देखाउँछ भने यो लडाइँका निम्ति उहाँ तम्तयार हुनुहुन्थ्यो र अझ भनौँ उत्सुक नै ।
ह्वाइट हाउस ठान्छ कानुन व्यवस्था, अनि आक्रामक ढङ्गले आप्रवासन नीति कार्यान्वयनका विषय उहाँका लागि राजनीतिक रूपमा लाभदायी छन्।
उहाँका मूल समर्थकहरू यस्ता कार्यबाट खुसी हुन्छन् अनि स्वतन्त्र मानिसहरू सार्वजनिक सुरक्षाको विषयलाई लिएर आकर्षित हुन्छन्।
सन् २०२० मा मिनिसोटामा ब्ल्याक लाइभ्स म्याटर अभियानताका भएका प्रदर्शनहरूको स्मरण गर्दै नोअमले त्यतिखेर दङ्गालाई बेरोकटोक चल्न दिइएको बताउनुभयो र ट्रम्प प्रशासन त्योभन्दा बेग्लै ढङ्गले प्रस्तुत हुने बताउनुभयो।
“हामी २०२०को जस्तो अवस्था दोहोरिन दिन्नौँ “, उहाँले भन्नुभयो।
तर डेमोक्र्याटहरूले चाहिँ प्रशासनले सैनिकजस्तै हतियारधारी अनि नकाब लगाएका आप्रवासन अधिकारीहरूलाई रेस्टुराँ तथा पसलहरूलमा खटाउने कार्यलाई भड्काउपूर्ण भनेका छन्। प्रशिक्षित सेनालाई खटाउन अनावश्यक पनि भनेका छन्।
“राज्य सरकारले सहयोग नमाग्दै राष्ट्रपतिले यसो गर्नु पुस्तौँदेखिका हाम्रा परम्परा विपरीत हुन्। र यसले केवल स्थितिलाई भड्काउँछ र थप खराब बनाउँछ”, न्यूजर्सीका सिनेटर कोरी बुकरले भन्नुभयो।
“आप्रवासन सुनुवाइमा उपस्थित हुँदै गरेका अनि कानुनको पालना गर्न खोजिरहेका मानिसहरूलाई समेत पक्राउ गरेर अमेरिकाका राष्ट्रपतिले रोपेका अराजकता र भ्रमकै कारण यी धेरै प्रदर्शन भइरहेका छन्”, उहाँले भन्नुभयो।
गर्मी याममा विरोध प्रदर्शनहरू भइरहने अमेरिकाको इतिहास नै छ।
ट्रम्पको दोस्रो कार्यकालको पाँच महिना बित्दै गर्दा क्यालिफोर्नियाका यी प्रदर्शनहरू यहीँ रोकिएलान् वा आगामी दिनमा विस्तार होलान् भन्ने प्रश्न बाँकी छन्।


















