लस एञ्जल्स(क्यालिफोर्निया, संंयुक्त राज्य अमेरिका), २७ जेठ । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलस सहरमा ट्रम्प प्रशासनले थप २ हजार न्याशनल गार्ड परिचालन गरेको अनि ७०० यूएस मरिन सैनिक पठाउन लागेको छ।
आप्रवासीहरूलाई सङ्घीय निकाय आईसले धरपकड गरेपछि त्यहाँ चर्किएका विरोध प्रदर्शनहरू लगातार तेस्रो दिन जारी रहे भने प्रदर्शनकारी तथा सुरक्षाकर्मीबीच झडपहरू भए।
राज्यका गभर्नर गेभिन न्यूसमले ट्रम्प प्रशासनले अनावश्यक रूपमा सेना परिचालन गरेको भन्दै मुद्दा हाल्नुभएको छ। न्यूसम र लस एन्जलस सहरकी मेयर क्यारेन बासले स्थानीय प्रहरी स्थिति नियन्त्रणमा लिन सक्षम रहेको जिकिर गर्दै आउनुभएको छ।
गभर्नरको स्वीकृति बेगर सेना खटाएको भन्दै राज्यका महान्यायाधिवक्ताले राष्ट्रपति ट्रम्पलाई मुद्दा हाल्नुभएको छ।
गभर्नरको तीखो आरोप
यसअघि परिचालित २ हजार न्याशनल गार्डमध्ये केवल ३ सय मात्र खटिएको र बाँकी विना आदेश त्यत्तिकै बसिरहनु परेको अवस्थामा ट्रम्पले थप २ हजार परिचालन गरेको उहाँले बताउनुभयो।
साथै सङ्घीय कर्मचारी तथा भवनहरूको सुरक्षाका लागि भन्दै ट्रम्पले ७ सय मरिन सैनिक पनि खटाउने भन्नुभएको छ।
गभर्नर न्यूसमले ती मरिनहरू निरङ्कुश राष्ट्रपतिको बहुलठ्ठीपूर्ण कल्पना पूरा गर्न खटिन लागेको बताउनुभयो।
यसबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै सेना खटाउने राष्ट्रपतिको कदमको बचाउ गर्नुभएको छ।
“यो प्रशासन अराजकताबाट तर्सने छैन”, भान्सले लेख्नुभएको छ, “राष्ट्रपति ट्रम्प पछि हट्ने छैनन्।”अमेरिकामा घरेलु शान्ति सुव्यवस्थाका मामिलामा सेना खटाइनु निकै अस्वाभाविक ठानिन्छ।
लस एन्जलसको घटना नजिर बन्न सक्ने
पछिल्लो अवस्थाबारे जानकारी दिँदै सहरकी मेयर क्यारेन बासले सिटी हलमा एक र्याली भएको जुन पछि सङ्घीय भवनमा पुगेको र त्यो शान्तिपूर्ण भएको बताउनुभयो ।
अहिले उक्त भवनमा केही सय मानिस रहेको तर त्यहाँ हिंसाका कुनै विवरण नआएको उहाँले बताउनुभयो। उक्त भिडलाई प्रहरीले हटाइरहेका तस्बिर आएका छन्।
सहरका प्रहरी प्रमुख जिम मक्डोनलले भिडलाई जोखिम भएका ठाउँबाट हटाउने नीति अपनाइएको बताउनुभयो। भिडलाई ढुङ्गा वा अन्य वस्तु अधिकारीहरूलाई हान्न नसक्ने गरी तितरवितर पार्न खोजिएको उहाँले बताउनुभयो।
मेयर बासले उहाँको सहरमा आप्रवासीलाई धरपकड गर्नुपर्ने कुनै अवस्था नरहेको बताउनुभएको छ। धरपकडका कारण दङ्गा फैलिएको थियो।
“मलाई लाग्छ हाम्रो सहर एक नजिर बनेको छ”, उहाँले स्थानीय सरकारलाई बेवास्ता गर्दै सङ्घीय सरकारले हस्तक्षेप गरेको तर्फ इँगित गर्दै भन्नुभयो।
लस एन्जलस सहरमा आप्रवासीहरूको अतिक्रमण भएको भनेर ट्रम्प प्रशासनले गरेको चित्रणलाई उहाँले घिनलाग्दो भन्नुभएको छ।
“हामी विभाजित होइन एकताबद्ध हुनु पर्छ। आप्रवासीहरूको सहरको पहिचानलाई हामीले सदैव अँगालेका छौँ “, उहाँले भन्नुभयो।


















