Prakash Adhikari June 10, 2025

 

एडेनवर्ग(स्कटल्याण्ड), २७ जेठ । आइसीसी विश्वकप लिग टु अन्तर्गत मंगलबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ ।

स्कटल्याण्डको डन्डीमा भएको खेलमा २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९.२ ओभरमा २ सय २० रन जोडेको अवस्थामा अल आउट हुन पुग्यो ।

नेदरल्याण्ड्सका वेस्ली बारेसीले ६० बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे । दोस्रो विकेटका लागि बारेसी र माइकल लेभिटले ५० बलमा ४१ रनको साझेदारी गरे । लेभिटले २७ बलमा ३ चौका र १ छक्काको सहयोगमा २७ रन जोडे ।

कप्तान स्कट एडवार्डस ४७ बलमा २ चौकाको सहयोगमा ३० रनमा आउट भए । कप्तान एडवार्डसले तेजा निदामानिरुसँग मिलेर पाँचौ विकेटका लागि २९ रनको साझेदारी गरे । निदामानिरु ३६ बलमा १७ रनमा आउट भए ।

नोहा क्रोसले २७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे । क्रोसले सातौं विकेटका लागि काइल क्लेनसँग मिलेर ३७ रनको साझेदारी गरे । क्लेनले ४६ बलमा १ छक्काको सहयोगमा २५ रन जोडे ।

क्लेनसँग रोलेफ भान मिर्वोले आठौं विकेटका लागि ३१ रनको साझेदारी गरे । मिर्वो २२ बलमा १ छक्काको सहयोगमा १६ रनमा आउट भए ।

नेदरल्याण्ड्सलाइ रोक्ने क्रममा नेपालका लागि ओडिआई डेब्यु खेल खेलेका नन्दन यादबले ९ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । सन्दीप लामिछानेले ३, ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो ।

नेपालका आरिफले अर्धशतकीय इनिङ खेले । आरिफले ८५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ८४ रनको योगदान गरे । आरिफको यो ओडिआई करियरको सर्वाधिक रन हो । उनी प्लेयर अफ द म्याच पनि भए ।

आरिफले गत साता पनि नेदरल्याण्ड्ससँगको खेलमा अर्धशतक प्रहार गरेका थिए । आरिफले त्यो खेलमा ७८ रन बनाएका थिए ।

भीम सार्कीले ३८ बलमा ३ चौकाको सहयोगमा ३५ रन बनाए । तेस्रो विकेटका लागि भीम र कप्तान रोहितकुमार पौडेलले ७९ बलमा ५९ रनको‌ साझेदारी गरे । रोहित र भीम माइकल लेभिटको बलमा आउट भए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरी २४ बलमा १ चौकाको सहयोगमा १६ रन जोडे । सिरिजको अन्तिम खेलमा मौका पाएका बसिर अहमदले २५ बलमा ११ रन बनाए । करण केसी १९ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए । नन्दन यादव १० रनमा अविजित रहे ।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई १८ रनमा गुमाएको थियो । कुशलले १९ बलमा २ चौका प्रहार गरे । दोस्रो विकेटका रुपमा १६ बल सामना गरेका अनिल साह २ रनमा आउट भए । नेपालका दुवै ओपनरलाई पल भान मेकरेनले आउट गरेका थिए ।

खेलमा नेदरल्याण्ड्सले १० रन पेनाल्टी स्वरुप पायो । दोस्रो इनिङको सुरुवातमा नेदरल्याण्ड्सले कुनै बलको सामना नगरी १० रन पाएको थियो । नेदरल्याण्ड्सका तीव्र गतिका बलर कायल केलिनको ३७ औं ओभरको तेस्रो बलमा बसिर अहमद पिचको मध्यभागमा हिँडेका थिए । नेदरल्याड्सका  बलर रोलेफ भान डर मर्वेले अम्पायरसँग उक्त घटना बताए । त्यसपछि अम्पायरले नेपाललाई ५ रन पेनाल्टी दिए ।बसिरले सोही किसिमको गल्ती ४० औं ओभरमा पनि गरे ।यस पटक नेदरल्याड्सका कप्तान स्कर्ट एडवार्ड्सले अपिल गरे । त्यसपछि आरिफ शेखले बसिरलाई सम्झाए । तर त्यतिबेलासम्म अम्पायरले नेपाललाई ५ रनको थप पेनाल्टी लगाई सकेका थिए । जसको कारण नेदरल्याण्ड्सले १० रन अतिरिक्त पाएको थियो ।

क्रिकेटको नियम अनुसार पिचको बीच भागबाट ब्याटर हिँड्न पाइदैन ।बीचभागबाट हिँडेमा मात्रै होइन बलमा थुक लगाएमा, विकेटकिपरले राखेको हेल्मेटमा बल लागेका, ब्याटरले समय अनावश्यक रुपमा खर्चेमा, फिल्डिङ टोलीलाई बाधा पुर्याएमा, पिच ब्याटरले बिगारेमा, चेतावनीका बाबजुद पुन सर्ट रन लिएमा, बल टेम्परिङ(बल बिगारेमा पनि पाँच रन पेनाल्टी लाग्ने गर्दछ ।

नेदरल्याण्ड्सका लागि पल भानले ४, लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।

त्रिकोणात्मक सिरिजमा यसपटक नेपालले ४ मध्ये ३ खेल जितेको छ। नेपालले स्कटल्याण्डसँगको पछिल्लो खेलमा २ रनको हार बेहोरेको थियो।

नेपाल ८ राष्ट्र सहभागी लिग टु मा १६ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । नेदरल्याण्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।

Share Now