संवैधानिक पदका ५२ वैधानिक नियुक्ति
२०७४ मंसिरमा भएको निर्वाचनमा तालमेल गरेका एमाले र माओवादी केन्द्रले निर्वाचन पछि संयुक्त सरकार बनाए । दुवै पार्टीबीच एकीकरण पनि भयो । एकीकृत पार्टीको संयुक्त अध्यक्ष बन्नुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले पार्टीभित्र माधव नेपाल र प्रचण्डलाई बहुमतको बलमा भित्तामा पुर्याउन थाल्नुभयो । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)भित्र दुई गुटको विवाद बढ्दै गयो । प्रचण्ड–माधव समूह एकातिर रहे भने अर्को समूहको नेतृत्व केपी शर्मा ओलीले गर्नुभयो।
यसै बीचमा उहाँले पार्टीमा परामर्श नगरी दलविभाजन सम्बन्धी अध्यादेश सिफारिस गर्नुभयो । बढ्दो विवादको असर संवैधानिक परिषद्को बैठकसम्म पुग्यो । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको परिषद्मा सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, विपक्षी दलका नेता शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा हुनुहुन्थ्यो । उपसभामुख पद रिक्त थियो ।
परिषद्मा प्रधानमन्त्रीको साथमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाधीश जबरा मात्रै हुनुहुन्थ्यो । सभामुख सापकोटा र विपक्षी दलका नेता देउवाले ओलीका सर्वसत्तावादी कदमलाई सहयोग गर्नुभएको थिएन। त्यतिबेला ६ सदस्यीय संवैधानिक परिषद्मा पाँच जना उपस्थित नभए गणपुरक संख्या पुग्दैनथ्यो र निर्णय हुन सक्दैनथ्यो ।सभामुख सापकोटाले निरन्तर असहयोग भइरहेको थियो ।
त्यही पृष्ठभूमीमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर तीन जना पदाधिकारी उपस्थित भएपनि संवैधानिक परिषदको बैठक बस्न सक्ने र बहुमतका आधारमा निर्णय हुनसक्ने खुकुलो व्यवस्था बनाउनुभयो ।
पार्टीभित्र आफूइतरको समूहले टाउको उठाउने र संसदको प्रतिपक्षतिर लहसिने संभावना देखेपछि प्रधानमन्त्री ओलीले ५ पुस, २०७७ मा प्रतिनिधिसभा विघटन गर्नुभयो । त्यसअघि नै ३० मंसिरमा बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायमा ३८ जना पदाधिकारीहरू सिफारिस गरेको सूचना सार्वजनिक भयो । तीमध्ये ३२ जना नियुक्त भए ।
प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ विना नै उनीहरूको नियुक्ति भयो । त्यसपछि ७ जेठ, २०७८ मा फेरि दोस्रोपटक प्रतिनिधिसभा विघटन भयो । त्यसपछि फेरि २० जना संवैधानिक पदाधिकारीहरूको नाम सिफारिस र सुनुवाइ विना नियुक्ति भएको हो ।


















