Prakash Adhikari June 15, 2025

-माइक वेन्डलिङ/बीबीसी न्यूज

विशेष अनुमति लिएर संयुक्त राज्य अमेरिका बसेका पाँच लाख आप्रवासीहरूलाई अमेरिकाले तत्कालै देश छाड्न निर्देशन दिने भएको छ।

अमेरिकाको डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस)ले बिहीवार एक विज्ञप्ति मार्फत् क्युवा, हेइटी, निकारागुआ र भेनेजुएलाका त्यस्ता नागरिकहरूलाई यसअघि निष्कासन गर्नबाट लगाइएको अस्थायी रोक अन्त्य गरिने जनाएको हो।

उनीहरूलाई अमेरिकाबाट बाहिरिन आग्रह गर्दै इमेल पठाइने उक्त निकायले जनाएको छ।

पूर्वराष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालमा चार देशका पाँच लाख नागरिकलाई दुई वर्ष अमेरिकामै बस्न सक्ने अनुमति दिएको डीएचएसले जनाएको छ।

ट्रम्प प्रशासनको आम निष्कासन कार्यक्रमजस्तै पछिल्लो निर्देशनविरुद्ध पनि कानुनी चुनौती दिइने ठानिएको छ।

आफ्नो कार्यकालमा बाइडनले उनीहरूका लागि अमेरिकामा रहने सुविधा बढाउनुभएको थियो जसलाई ‘ह्युमेनिटेरिअन परोल’ नाम दिइएको थियो।

उनीहरूलाई आ-आफ्नो देशको अवस्थाका कारण अमेरिकामा रहने सुविधा दिइएको बताइएको थियो।

डीएचएसका अनुसार सन् २०२४ को नोभेम्बर अन्त्यसम्म ५,३१,६७० जना मानिसहरूलाई उक्त कार्यक्रम अनुसार अमेरिकामा बस्ने अनुमति दिइएको थियो।

यसले ती चार देशबाट अमेरिकामा हुने गैरकानुनी प्रवेश ९८ प्रतिशतले घटेको थियो।

नयाँ निर्देशिकाबाट ठ्याक्कै कति मानिसहरू प्रभावित हुन सक्छन् भन्ने अझैसम्म प्रस्ट छैन। ती देशका कतिपय आप्रवासीहरू अन्य भिसा प्रक्रियाबाट यो अवधिमा अमेरिकामै रहने कानुनी अनुमति पाइसकेका छन्।

बाइडन प्रशासनले अमेरिकी प्रायोजक रहेका आप्रवासीहरूको पृष्ठभूमि अध्ययन गरिएको र उनीहरूलाई जाँच गरेर मात्रै अमेरिकामा रहने अनुमति दिइएको बताएको थियो। तर ट्रम्प प्रशासनले यो विषयमा असहमति जनायो।

डीएचएस प्रवक्ता ट्रिसिया मिक्लक्लिनले बाइडन प्रशासनका पालामा भएको कार्यक्रमलाई “विनाशकारी” भएको प्रतिक्रिया दिनुभयो ।

उक्त कार्यक्रमले ठगी र अपराधका लागि ढोका खोलेको र अमेरिकी कामदारको माग घटाएको उहाँले बताउनुभयो ।

पछिल्लो अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा पनि यो कार्यक्रम चुनावी मुद्दा बनेको थियो।

विशेषगरी ट्रम्प र उहाँले बताउनुभयो ।का सहयोगीहरूले पछिल्ला वर्षहरूमा अमेरिकाका केही सहरहरू उक्त कार्यक्रम अन्तर्गत अमेरिका बस्न अनुमति पाएका हेइटीका नागरिकहरूको भीड हुन थालेको विषय उठाउनुभएको  थियो।

ट्रम्प र अन्य नेताहरूले हेइटीबाट आएका आप्रवासीहरूले घरपालुवा जनावर खाएको जस्ता मानिसहरूलाई भड्काउने अभिव्यक्ति दिनुभएको  थियो। तर उक्त कुराको कुनै प्रमाण थिएन।

यद्यपि  उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले धेरै आप्रवासीहरूका कारण “अमेरिकी जनताले दुख पाएको” विषयमा मानिसहरूको ध्यान आकृष्ट गर्न “कथा बुनिएको” भन्दै ट्रम्पको बचाउ गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले ज्यानुअरीमा आफ्नो कार्यकाल सुरु गरेको केही समयमै बाइडनले दिएको विशेष अनुमति खारेज गर्ने कार्यकारी आदेश जारी गर्नुभएको थियो ।

तर गत मेमा अमेरिकाको सर्वोच्च अदालतले बाइडनको परोल कार्यक्रम खारेज गर्ने ट्रम्पको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो। तर उक्त मुद्दा तल्लो अदालतमा अझै विचाराधीन छ।

डीएचएसले आफैँ देशबाट बाहिरिन चाहने अमेरिकामा रहने कानुनी हैसियत नभएका आप्रवासीहरूलाई यात्रामा सहयोग र एक हजार अमेरिकी डलर बोनस दिने प्रस्ताव गरेको छ

Share Now