सूर्य नेपाल गल्फ टूर २०२४-२५ को अन्तिम प्रतियोगिता आजदेखि गोकर्णमा; हालसम्मकै सर्वाधिक ठूलो पुरस्कार
काठमाडौँ, २ असारः सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि सुरु हुँदैछ ।
गोकर्ण गल्फ क्लबमा असार २ गतेदेखि ५ गतेसम्म हुने प्रतियोगिता ७२ होलको हुनेछ । ३६ होलपछि कट लागू हुने नियम रहेको छ । कट बनाउने शीर्ष २१ व्यावसायिक खेलाडी तथा सोही स्कोर बनाउने एमेच्योर खेलाडीहरूले अन्तिम दुई राउन्डको लागि स्थान बनाउने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दिपक आचार्यले जानकारी दिए ।
चार दिने प्रतियोगितामा ३७ जना व्यावसायिक गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दावेदारी प्रस्तुत गर्नेछन् । साथै प्रतियोगितामा १८ एमेच्योर गल्फरले पनि प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् ।
सिजनभर उत्कृष्ट प्रदर्शन गर्दै तीन उपाधि जितेर ७ लाख ४२ हजार ५ सय नगद पुरस्कार पाएका निरज तामाङ जारी सिजनको अर्डर अफ मेरिटको शीर्ष स्थानमा छन् । तोरण शाही (४ लाख ९ हजार ५ सय) दोस्रो र भुवन नगरकोटी ( ३ लाख ६४ हजार ५ सय) तेस्रो स्थानमा छन् ।
भारतमा प्रोफेसनल गल्फ टुर खेलिरहेका शुक्र बहादुर राई र सुभाष तामाङले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । एमेच्योरतर्फ यो सिजनमा उपाधि जितेका सदभाव आचार्य र राहुल विश्वकर्मा तथा भुटानका शीर्ष एमेच्योर निम दोर्जी तामाङले प्रो गल्फरहरूलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।
चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो-एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्र मान श्रेष्ठले भने, “यो सिजनको अन्तिम प्रतियोगिता नेपाली गल्फ इतिहासमै सबैभन्दा ठूलो पुरस्कार राशीसहित हुँदैछ । खेलाडीहरू निकै जोशमा छन्, उनीहरू सिजनलाई सफलता पूर्वक टुंग्याउन तत्पर छन् । सूर्य नेपाल प्रा.लि.लाई नेपाली गल्फको निरन्तर प्रगतिमा दिएको साथका लागि हामी हार्दिक धन्यवाद दिन्छौं । ”


















