काठमाडौं, ४ आषाढ (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसको सिचुएसन रुममा एक आकस्मिक बैठक डाकेर इजरायलले थालेको इरानविरुद्धको युद्धमा अमेरिकी संलग्नताबारे छलफल गर्नुभएको छ।
करिब १ घण्टा २० मिनेट चलेको उक्त बैठकमा इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने कार्यमा इजरेलको साथमा अमेरिका सामेल हुनेबारे छलफल भएको बीबीसीको अमेरिकी सञ्चार साझेदार सीबीएस न्यूजले जनाएको छ।
उक्त अजेन्डामा ट्रम्पका निकट सल्लाहकारहरूमाझ मतैक्य नभएको बताइएको छ।
युद्ध परिणाम बदल्ने अमेरिकी अस्त्र
सो छलफलमा इरानको फोर्दोस्थित जमिनभन्दा निकै मुनि भूमिगत युरेनिअम प्रशोधन केन्द्रलाई निसाना बनाउनेबारे कुराकानी भएको बीबीसीका उत्तर अमेरिका संवाददाता जेक क्वनले बताउनुभयो।
जमिनभन्दा त्यति मुनि रहेको स्थललाई ध्वस्त पार्ने क्षमता केवल अमेरिकासँगमात्र रहेको बताइन्छ।
बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरका अनुसार त्यो अस्त्र भनेको ३० हजार पाउन्ड क्षमताको बम हो।
पहाडको ९० मिटर मुनि गहिराइमा निर्मित इरानको परमाणु केन्द्र ध्वस्त पार्ने क्षमता जीबीयू-५७ एमओपी नाम भएको उक्त मासिभ अर्डनान्नस पेनिट्रेटर बमसँग मात्र भएको बताइन्छ।
त्यसले जमिनभन्दा ६१ मिटर मुनिसम्म प्रहार गर्न सक्ने अनि निरन्तर प्रहार गर्दा त्योभन्दा तलसम्म असर पार्न सक्ने बताइन्छ।
सीबीएस न्यूजका अनुसार राष्ट्रपतिका सल्लाहकारहरू अब के गर्ने भन्ने बारे अझै विभाजित छन्।
गत तीन दिनमा कम्तीमा ३० वटा अमेरिकी सैन्य ट्याङ्कर एअरक्राफ्ट – लडाकू जेट तथा बमवर्षकहरूलाई इन्धन भर्नका निम्ति आवश्यक – युरोपमा पठाइएको छ।
इरानले सम्झौता नगर्ने
मङ्गलवार राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा टिप्पणी गर्दै इरानलाई निशर्त आत्मसमर्पण गर्न आह्वान गर्नुभयो।
तर इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले सामाजिक सञ्जालबाटै त्यसको जबाफ दिनुभयो। आफ्नो देशले जायोनिस्टहरूसँग कहिल्यै सम्झौता नगर्ने उहाँले बताउनुभयो। जायोनिज्म भन्नाले यहुदीहरूको स्वतन्त्र राष्ट्र इजरायलको समर्थन भन्ने बुझिन्छ।
उहाँले अब लडाइँ सुरु भएको पनि टिप्पणी गर्नुभयो। तत्कालका निम्ति उहाँको हत्या योजना अमेरिकाले रोकेको ट्रम्पले बताएपछि उहाँको टिप्पणी आएको हो।
यसबीच इरानको अर्धसरकारी सञ्चारमाध्यम मेहरले सामाजिक सञ्जाल एक्समा इरानले इजरायलतर्फ फताह १ नामक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।
सरकारी प्रेस टीभीले पनि इस्लामिक रिभोलुशनरी गार्ड्स कोर (आईआरजीसी)लाई उद्धृत गर्दै भनेको छ, “कारबाहीको पछिल्लो चरण अति महत्त्वपूर्ण रहेको आईआरजीसीले बताएको छ। पहिलो पुस्ताको फताह क्षेप्यास्त्र प्रहारले इजरेलको मिथकीय क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको अन्त्यको सुरुवात गर्नेछ।”
फताह क्षेप्यास्त्र सन् २०२३ मा पहिलोपटक प्रदर्शित गरिएको थियो र त्यसको नामाकरण सर्वोच्च नेताले गर्नुभएको थियो।
आईआरजीसीले उक्त क्षेप्यास्त्रलाई इजरेल(मारक भन्ने गरेको छ। त्यसको पहिलो प्रदर्शनका बेला तेहरानमा ठूलो ब्यानर झुण्डाइएको थियो जसमा हिब्रु भाषामा लेखिएको थियो’ ४०० सेकेन्डमा तेल अभिभ ।’
आईआरजीसीले फताहलाई हाइपरसोनिक वा ध्वनिभन्दा पनि धेरै तीव्र गतिको क्षेप्यास्त्र भन्ने गरेको छ। तर त्यसको वास्तविक क्षमताबारे सैन्य विश्लेषकहरूले शङ्का गर्ने गर्छन्।


















