काठमाडौं, ६ असार । अमेरिकाको विदेश मन्त्रालयले भनेको छ उसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका निम्ति भिसाको अपोइन्टमेन्ट दिने कार्य फेरि सुरु गर्दैछ।
गत महिना ट्रम्प प्रशासनले त्यस्ता सबै अपोइन्टमेन्ट स्थगन गरेको थियो।
उसले अमेरिकासँग वैरभाव राख्ने आवेदकहरूलाई रोक्ने उद्देश्यका साथ उक्त निर्णय लिएको बताएको थियो।
अमेरिकाद्वारा विश्वभरि विद्यार्थी भिसाका अपोइन्टमेन्ट स्थगन, सामाजिक सञ्जाल निगरानीको योजना
के छ नयाँ शर्त ?
विद्यार्थी भिसा फेरि सुरु गर्ने बताएको अमेरिकी विदेश मन्त्रालयले त्यसका निम्ति केही शर्त पनि राखेको छ।
उसले सबै आवेदकहरूलाई तिनका सामाजिक सञ्जालको सुदृढ अनुगमनका निम्ति तिनलाई खुला (पब्लिक) गर्न भनेको छ।
मे २७ मा ट्रम्प प्रशासनले विदेशस्थित उसका राजदूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताका निम्ति समय दिने कार्य रोक्न आदेश दिएको थियो।
त्यतिखेर पनि उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थालेको जानकारी दिएको थियो।
कूटनीतिक निकायहरूलाई जारी गरिएको सूचनामा विदेशमन्त्री मार्को रुबियोले थप निर्देशन नआएसम्मका लागि ती कार्य स्थगन हुने भन्नुभएको थियो।
रुबियोले उहाँको सन्देशमा विद्यार्थी तथा फरेन एक्सचेन्जअन्तर्गतका भिसा आवेदकहरूको सामाजिक सञ्जालको निगरानी वा परीक्षण गहन बनाइने बताउनुभएको थियो।
ट्रम्पको उद्देश्य के ?
विद्यार्थी भिसाको विषयलाई राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी विश्वविद्यालयहरूविरुद्ध चालेका कारबाहीको एउटा पाटोको रूपमा हेरिएको थियो।
ट्रम्पका अनुसार कतिपय अमेरिकी विश्वविद्यालयहरू यहुदी विरोधी भावनासँग जुझ्न विफल रहे-खासगरी प्यालेस्टीनीको समर्थनमा हालै त्यहाँ भएका प्रदर्शनहरूका समयमा।
उहाँले हार्वर्डसहित प्रतिष्ठित विश्वविद्यालयहरूलाई दिइने दशौँ करोड डलर बराबरका सरकारी कोष पनि रोक्का गरिदिनुभएको छ ।
कतिपय विद्यार्थीलाई अमेरिकाबाट निकाला गरिएको छ भने हजारौँ अन्यको भिसा रद्द गरिएको छ।
यीमध्ये कतिपय कारबाहीलाई अदालतहरूले रोकिदिएका छन्।
कलेजहरूले चाहिँ ट्रम्प प्रशासनले वाक् स्वतन्त्रता कुल्चन खोजेको आरोप लगाएका छन्।
सन् २०२३(२४ को शैक्षिक वर्षमा २१० देशका ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकी कलेजहरूमा भर्ना भएको विदेशी विद्यार्थीसम्बन्धी आँकडा सङ्कलन गर्ने सङ्गठन ओपन डोअर्सले जनाएको छ।
गत वर्ष सबभन्दा धेरै भारतबाट आएका थिए। ओपन डोअर्सका अनुसार गत वर्ष ३ लाख ३० हजार भारतीय विद्यार्थी अमेरिका पढ्न आएका थिए।
दोस्रो स्थानमा करिब २ लाख ८० हजार विद्यार्थीसहित चीन रहेको छ। त्यसपछि धेरै सङ्ख्यामा अमेरिकामा पढ्न जानेहरूमा दक्षिण कोरिया, क्यानडा, ताइवान, भिएतनाम, नाइजिरिया, बाङ्ग्लादेश, ब्रजिल र नेपालका रहेका छन्।
(बीबीसीबाट)


















