ग्लास्गो (स्कटल्याण्ड), ६ आषाढ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी ट्वान्टी आई सिरिजमा स्कटल्याण्डले नेपालसामु १ सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ९३ रनको योगफल तयार गर्यो ।
स्कटल्याण्डका लागि ओपनर जर्ज मन्सी ३९ बलमा ५ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ७८ रन बनाए । उनलाई कुशल भुर्तेलले आउट गरे ।भूर्तेलको बलमा कप्तान रोहित पौडेलबाट उनी क्याच आउट भए ।
पहिलो विकेटका लागि मार्क वाटसँग मन्सीले ३४ रनको साझेदारी गरे । वाट ९ बलमा ९ रन जोड्दै रुपेश सिंहको बलमा बोल्ड आउट भए । तेस्रो विकेटका लागि मन्सीले ब्रण्डन मकमलनसँग ५६ बलमा १ सय रनको महत्वपूर्ण साझेदारी गरे । मकमलन ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा ४२ रनमा आउट भए ।
माइकल लिस्क १७ बलमा २६ तथा म्याथ्यु क्रस १३ बलमा १७ रन बनाउदै अविजित रहे । कप्तान रिची बेंरिग्टन ९ रन बनाउँदै कुशलको बलमा लोकेश बमद्वारा समातिए ।
नेपालका लागि कुशलले २, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेशले समान १ । १ विकेट लिए । नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । स्कटल्याण्ड समान खेलमा २ मा हार र १ मा जितका साथ तेस्रो स्थानमा छ । नेपालले यो खेल जितेमा नेपालको ६ अंक हुनेछ । जसले तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल च्याम्पियन हुनेछ ।
नेपालको भन्दा स्कटल्याण्डको रन रेट राम्रो रहेको छ । स्कटल्याण्ड विजयी भएमा नेपाल र घरेलु टोलीको अंक बराबरी हुन्छ । त्यस्तोमा रन रेटमा अघि रहेका कारण स्कटल्याण्ड च्याम्पियन हुनेछ ।
पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल सोमवार नेदरल्याण्ड्ससँग पराजित भएको थियो । बिहिवार अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।


















