ग्लास्गो(स्कटल्याण्ड), ७ आषाढ । खेलाडी छनोटको कमजोरीले स्कटल्याण्ड टी २० श्रृखलाको च्याम्पियन बन्ने अवसर नेपालले गुमाएको छ । श्रृखलाको विजेता बन्ने अन्तिम खेलमा नेपालले बलिड. र ब्याटिड. दुवैमा उत्तिकै दखल राख्ने करण के.सी.लाई मैदान बाहिर राख्ने जुन गल्ती गर्यो, शुक्रबार रातिको खेलमा नेपालको पराजय त्यसकै परिणाम हो भन्ने स्पष्ट भएको छ । करणको स्थानमा नेपालले रिजन ढकाललाई मौका दिएको थियो । तर रिजनको प्रस्तुति करणको जत्तिको हुन सकेन । त्यसो त हिजोको खेलमा सोमपाल कामी , नन्दन यादव र गुल्शन झाको अभाव पनि खट्कियो । हिजोको खेलमा बलरहरु पनि फिका देखि ब्याटरहरुले झन सोचे जस्तो गर्ने सकेनन् । च्याम्पियन बन्न सकेको भए नेपाली टोलीको मनोबल अझ उच्च रहने थियो । यति धेरै अनुभवी खेलाडी मैदान बाहिर पारेर खेल जित्ने अपेक्षा गर्नु नेपाली टोलीका प्रशिक्षक र कप्तानको दुस्साहस नै थियो ।
नेपाल शुक्रवार घरेलु टोलीसँग ३४ रनले पराजित भयो । १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो ।
नेपाली टोलीका रुपेश सिंहले २२ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३४ रन जोडे ।
कप्तान रोहितकुमार पौडेल २० बलमा ४ चौकाको सहयोगमा २७ रन जोडे । आसिफ शेख १४, भीम सार्की १२ तथा आरिफ शेख ५ रनमा आउट भए ।
नेपाललाई रोक्ने क्रममा स्कटल्याण्डका क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको बनायो ।
स्कटल्याण्डका ओपनर जर्ज मन्सी ३९ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७८ रन बनाए । स्कटल्याण्डका मन्सी कुशल भुर्तेलको बलमा कप्तान रोहितबाट क्याच आउट भए ।
पहिलो विकेटका लागि मार्क वाटसँग मन्सीले ३४ रनको साझेदारी गरे । वाट ९ बलमा ९ रन जोड्दै रुपेशको बलमा बोल्ड आउट भए ।
तेस्रो विकेटका लागि मन्सीले ब्रण्डन मकमलनसँग ५६ बलमा १ सय रनको साझेदारी गरे । मकमलन ३० बलमा ४ चौका र १ छक्कासहितमा ४२ रन बनाए ।
माइकल लिस्क १७ बलमा २६ तथा म्याथ्यु क्रस १३ बलमा १७ रन बनाउदै अविजित रहे । कप्तान रिची बेंरिग्टन ९ रन बनाउँदै कुशलको बलमा लोकेश बमद्वारा समातिए ।
नेपालका कुशलले २, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेशले समान १ विकेट लिए ।
स्कटल्याण्ड ४ खेलमा २ मा हार र २ मा जितका साथ शीर्ष स्थानमा रहँदै सिरिजको च्याम्पियन भएको छ । नेपाल समान खेलमा २ मा जित र २ मा हारका साथ अंकतालिकाको दोस्रो स्थानमा रह्यो । अंक बराबरी भएपनि नेपाल रनरेटमा पछि पर्यो । नेदरल्याण्ड्स तेस्रो भयो।


















