Prakash Adhikari June 24, 2025

 

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १० आषाढ(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको जनाउनुभएको छ।

उहाँले आफ्नो सामाजिक सञ्जालको वेबसाइट ट्रुथ सोसलमा एक सन्देश लेख्दै भन्नुभएको छ, “युद्धविराम अब लागु भएको छ। कृपया यसलाई उलङ्घन नगर्नू।”

केही बेरअघि इरानको सरकारी सञ्चारमाध्यमले पनि इजरायली भूभागमा चार लहरको इरानी क्षेप्यास्त्र हमलापछि इजरायलसँगको युद्धविराम सहमति आरम्भ भएको जनाएको छ।

इजरायलको सुरक्षा सैन्यका अनुसार दुई घण्टाको अवधिमा छ चक्रमा भएको हमलाले देशका विभिन्न क्षेत्रमा प्रहार भएको छ।

इजरायलले त्यस्ता हमलामा दक्षिणी इजरायलमा ४ जनाको ज्यान गएको जनाएको छ।

स्मरणीय छ, इजरायलले हालसम्म पनि युद्धविराम प्रस्तावलाई सार्वजनिकरूपमा स्वीकार गरिसकेको छैन।

सुरुको अन्योल

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि त्यस्तो युद्धविराम सहमतिको घोषणा गर्नुभएको थियो।

उहाँले युद्धविराम सहमति अनुसार इरानले इजरायलभन्दा १२ घण्टाअघि नै हमलाहरू रोक्ने बताएपछि अन्योल सिर्जना भएको थियो।

इजरायलले सार्वजनिक रूपमा युद्धविराममा सहमति जनाइसकेको छैन।

तर इरानी सरकारी टेलिभिजनले युद्धविरामका निम्ति इजरायललाई बाध्य बनाइएको र अमेरिकी राष्ट्रपतिले युद्धविरामको निम्ति याचना गरेका भन्ने विवरण प्रसारण गरेको छ।

पछिल्लो इरानी आक्रमण र युद्धविराम घोषणा कतारमा अमेरिकी हवाई सैन्य अखडामा इरानको क्षेप्यास्त्र आक्रमणपछि गरिएको छ।

खाडी मुलुक कतारले आक्रमणलाई आफ्नो सार्वभौमसत्तामाथि उल्लङ्घन भन्दै निन्दा गरेको छ र सोमवारको घटनामा कसैको पनि ज्यान नगएको बताएको थियो।

राष्ट्रपति ट्रम्पले यसको पुष्टि गरेका थिए र इरानले आफ्नो कारबाहीको पूर्व सूचना अमेरिकालाई दिएको भन्दै ट्रम्पले इरानलाई धन्यवाद पनि दिनुभएको थियो ।

इजरायलको अवस्था

सम्भावित युद्धविरामको खबर फैलिरहँदा इजरायलभर भने बिहानैदेखि मानिसहरू फोनमा क्षेप्यास्त्र हमला भइरहेको चेतावनीसँगै बिउँझिए जतिखेर उनीहरूलाई आश्रय स्थलमा जान सजग गराइएको थियो।

इरानबाट इजरायलमा क्षेप्यास्त्र प्रहार गरिएपछि लगातार कैयौँ चेतावनीहरू जारी गरिएको थियो।

जेरुसलेममा विस्फोटको आवाज सुनियो भने अन्यत्र रहेका बीबीसी संवाददाताहरूले समेत विस्फोटको आवाज सुनेको विवरण पठाएका छन्।

दक्षिणी सहर बेरशिबामा प्रत्यक्ष क्षति पुगेपछि चिकित्सकहरू घटनास्थल पुगेका छन्। एक आपत्कालीन सेवाले चार जनाको मृत्यु भएको र २२ जना घाइते बनेको पुष्टि गरेको छ।

त्यसयता इजरायलको उत्तरमा फेरि साइरन बज्न थालेको छ।

इरानमा निरन्तर हमलाका विवरण

तेहरानले पनि गएरात क्षेप्यास्त्र हमलाको लहर नै बेहोरेको बीबीसी संवाददाताले जनाएका छन्।

निरन्तरको हमलाबाट आफू रातभर अनिँदो रहेको र त्रसित भएको एकजना स्थानीयबासीले बताएका छन्। राजधानी तेहरानको पूर्वदेखि पश्चिमसम्मकै मानिसहरूले शहरभरि ठूला विस्फोटहरू भएका बताए।

“विस्फोटको प्रत्येक आवाजले मलाई एकदमै तर्साइरहेको छ”, अर्का तेहरानबासीले भने।

तर विहानको चार बजेको हाराहारीतिर विस्फोटनका आवाजहरू रोकिएको अर्का स्थानीयबासीले बताए।

युद्धविरामपछि अमेरिकाका लागि थप चुनौती

राष्ट्रपति ट्रम्पको दाबी अनुसार इजरायल युद्धविरामका लागि सहमत भयो कि भएन भन्ने समाचारको प्रतीक्षा भइरहेको छ। इरानी सरकारी टेलिभिजनका अनुसार इरानले त्यसलाई स्वीकार गरेको छ।

तर युद्धविरामपछि ट्रम्पको सामुन्ने सबभन्दा कठिन कार्य आउने छ, परमाणु हतियारलाई इरानको हातबाट टाढा राख्नु। ह्वाइट हाउसले इरानको परमाणु हतियार सम्पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेको छ। तर जबसम्म इरानले पर्यवेक्षकलाई स्थलगत भ्रमणका लागि अनुमति दिँदैन तबसम्म निश्चित रूपमा यसै भयो भन्ने कसैलाई थाहा हुने छैन।

थाहा नभएका अरू कुराहरू पनि छन्। के इरानले अमेरिकी आक्रमण हुनु अघि नै परमाणु सामग्री तथा ती सम्बन्धित उपकरण र मशिनहरू ती स्थानबाट हटाइसकेको थियो ? या थाहा भएका बाहेक अन्य गोप्य स्थान पनि छन् जुन अमेरिकी हवाई हमलाबाट नष्ट भएका छैनन् ?

अमेरिकीहरूले इरानीहरूसँग अब एक कूटनीतिक सम्झौता गर्न आवश्यक छ जसले पूर्ण तरहको जाँच गर्न मिल्ने किसिमको र पछाडि फर्कन नमिल्ने गरेर इरानको परमाणु कार्यक्रम समाप्त गर्ने सुनिश्चित गर्ने छ।

अमेरिकाले पछिल्लो पटक इरानसँग जब यस्तो सम्झौताबारे कुराकानी गरेको थियो त्यसबेला त्यस्तो दस्ताबेजमा हस्ताक्षर गर्न दुई वर्ष लागेको थियो।

र, ट्रम्पले त्यसबाट हात झिकेपछि त्यो सम्झौता रद्द हुन पुगेको थियो।

ट्रम्पले सन् २०१८ मा जेसीपीओए सम्झौता दोषपूर्ण रहेको र त्यसले इरानलाई परमाणु बम बनाउनमा रोक नलगाउने भन्दै च्यातिदिनुभएको थियो ।

Share Now