Prakash Adhikari June 25, 2025

पवनराज पौडेल । बीबीसी न्यूज नेपाली

काठमाडौं, ११ आषाढ । जलजले क्षेत्रमा ठूलो परिमाणमा मिथेन ग्यास भेटिएको पुष्टि भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भवतः आउँदो आर्थिक वर्षभित्र व्यावसायिक उत्पादन भइसक्ने बताउनुभएको छ।

ग्यास उत्खननको काम सफल भएको भन्दै प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा प्रधानमन्त्री ओलीले ‘परीक्षण उत्पादन मङ्सिरभित्रमा र आगामी आर्थिक वर्षभित्र सम्भवतः व्यावसायिक उत्पादन पनि भइसक्ने’ बताउनुभएको हो ।

कतिपय जानकारहरूले भने व्यावसायिक उत्पादनका निम्ति अत्यावश्यक धेरै चरणका काम हुनै बाँकी रहेको बताएका छन्। उनीहरूका अनुसार परीक्षण उत्पादन तुलनात्मक रूपमा सहज भए पनि आउँदो आर्थिक वर्षदेखि नै व्यावसायिक उत्पादन थाल्ने कार्य चुनौतीरहित भने छैन।

यसअघि प्रधानमन्त्रीले सम्बन्धित अधिकारीहरूलाई डाकेर एक वर्षभित्र उत्खनन गरी प्रयोगमा ल्याउने गरी काम सक्न निर्देशन दिनुभएको थियो

गत साता उद्योग मन्त्रालयका अधिकारीहरूले दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा मिथेन ग्यासको विशाल भण्डार पत्ता लागेको जनाउँदै उक्त ग्यास नेपालका लागि ५० वर्षका निम्ति पर्याप्त हुने दाबी गरेका थिए।

परीक्षण उत्पादन

यद्यपि उक्त अध्ययनको विस्तृत प्रतिवेदन आउनै बाँकी रहेको खानी तथा भूगर्भ विभागका प्रवक्तासमेत रहेका उपमहानिर्देशक तथा परियोजना प्रमुख दिनेशकुमार नापितले बीबीसीलाई बताउनुभएको छ ।

“आउँदो डिसेम्बरमा विस्तृत प्रतिवेदन प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि बल्ल परीक्षण उत्पादनसहितका कामहरू अघि बढ्छन् तर काम सुरु भएको मितिले परीक्षण उत्पादनका निम्ति तीन महिनाभन्दा धेरै समय लाग्दैन।”

चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जलजलेमा ड्रिलिङसहितका अन्वेषण कार्य सञ्चालन गरिएको थियो। नेपालको खानी विभाग र चिनियाँ जिओलजिकल सर्भे, छेन्दु केन्द्रबीच भएको सहमतिका आधारमा अन्वेषणका निम्ति सिब ड्रिलिङ इन्जिनियरिङ नामको चिनियाँ विशेषज्ञ कम्पनी खटाइएको थियो।

उक्त कार्यका निम्ति हालसम्म लगभग सवा दुई अर्ब रुपैयाँ खर्च भएको अधिकारीहरूले बताएका छन्। खानी विभागका प्रवक्ता नापितका अनुसार नेपालले खानी क्षेत्रसम्म पुग्ने बाटो बनाउने र परियोजनास्थलको जमिन अधिग्रहण गर्नेबाहेक हालसम्म भएका सबै खर्च चिनियाँ पक्षले नै बेहोरेको हो।

“डिसेम्बरमा प्राप्त हुने पूर्ण प्रतिवेदनमा अन्य महत्त्वपूर्ण र विस्तृत विवरणहरू पनि समेटिएको हुन्छ”, नापितले भन्नुभयो, “त्यसपछि परीक्षण उत्पादनको चरणमा जान्छौँ।”

अन्वेषणमा संलग्न चिनियाँ कम्पनीले परीक्षण उत्पादन थाल्न सल्लाह दिँदै त्यसमा संलग्न हुन चासो देखाएसँगै उद्योग र अर्थ मन्त्रालयबीच यसबारे छलफल भइरहेको उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताउनुभयो ।

“परीक्षण उत्पादनका निम्ति ६०–६५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ”, उनले भने, “परियोजनाको अवधि विस्तार गर्न अर्थको सहमति आवश्यक पर्ने भएकाले रायसहमति मागेका छौँ।”

“चिनियाँ पक्षले परीक्षण उत्पादनका निम्ति ८०–९० दिनभन्दा अधिक समय नलाग्ने तर त्यसको पूर्वतयारी आदिका निम्ति एक वर्षभन्दा धेरै समय लाग्ने जनाएको छ। हामीले विस्तृत प्रतिवेदन पनि यथाशक्य चाँडो दिन र परीक्षण उत्पादनका निम्ति आवश्यक पर्ने भनिएको समय पनि सकेसम्म घटाउन भनेका छौँ।”

के काम आउँछ मिथेन ग्यास?

मिथेन ग्यास सोझै भान्छामा प्रयोग गर्न सकिने अधिकारीहरू बताउँछन्।

“भारत, चीन, यूकेजस्ता कतिपय देशहरूमा हामीले भान्छाभान्छामा पाइपलाइन पुर्‍याएर ग्यासबाट खाना बनाएको देखिरहेका हुन्छौँ “, खानी विभागका नापितले भन्नुभयो, “शुद्धताका निम्ति आवश्यक पर्ने साधारण प्रक्रियापछि मिथेन ग्यासलाई त्यसै गरी सोझै पाइपलाइनमार्फत् भान्छामा प्रयोग गर्न सकिन्छ।”

उहाँका अनुसार मिथेनलाई पाइपलाइनमार्फत् सयौँ किमिसम्म सहजै ओसारपसार गर्न सकिन्छ।

“हाम्रो भूगोलले दिएन भने ठाउँठाउँमा कूलिङ प्लान्ट बनाएर पनि यसलाई प्रयोग गर्न सकिन्छ। माइनस १६२ डिग्री सेल्सिअसजति चिस्याउँदा यसको आकार ६०० गुनाले घट्छ”, उहाँले भन्नुभयो।

अमेरिकाले एलएनजी (लिक्विफाइड न्याचरल ग्यास) निर्यात गर्ने र भारत तथा चीन लगायतले आयात गर्ने गरेको दृष्टान्त दिँदै नापितले कोइलाका धनी कतिपय देशले कोइलालाई मिथेनमा परिणत गरेर पनि प्रयोग गर्ने गरेका बताउनुभयो।

नेपाल केमिकल सोसाइटीका अध्यक्ष प्राध्यापक जगदीश भट्टराई पनि नेपालमा मिथेनको ठूलो भण्डार भेटिनु उत्साहजनक भएको बताउँदै स्वदेशमै खपत तथा निर्यातको समेत सम्भाव्यता देखिएको बताउँछन्।

“हाम्रा लागि यो गर्वको कुरा हो। ठूलो परिमाणमा इन्धनको आयात गर्ने देशमा प्राकृतिक ग्यासको भण्डार भेटिनुले निकै अर्थ राख्छ।”

खानी विभागका नापित एलपीजीभन्दा हलुका हुने भएकाले मिथेनको ढुवानी लागत पनि कम हुने बताउनुहुन्छ ।

“विश्वमै यसप्रति बढ्दो आकर्षण देखिएका बेला हामीले सोझो रूपमा प्राप्त गरेका छौँ “, उहाँले भन्नुभयो।

व्यावसायिक उत्पादन

उद्योगमन्त्री दामोदर भण्डारीले उत्खनन कार्यलाई उच्च प्राथमिकतामा राखेर शीघ्र कार्यान्वयनका निम्ति अघि बढ्ने बताउनुभएको छ।

“हाम्रो प्रस्ताव एक वर्षभित्र व्यावसायिक उत्पादन थाल्ने भन्ने हो”, प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएसँगै बीबीसीसँग उहाँले भन्नुभयो, “कुन मोडालिटीमा जाने भन्ने कुरा परीक्षण उत्पादनपछि निर्क्योल हुन्छ। सरकारले आफैँ चलाउने वा अरू कम्पनीलाई कसरी दिने भन्ने मोडालिटी पछि नै तय हुन्छ।”

खानी विभागका उपमहानिर्देशक नापित प्राकृतिक ग्यासलाई प्रयोगयुक्त बनाउन ठूल्ठूला रिफाइनरीहरूको खाँचो नपर्ने भएकाले राज्यलाई स्रोत जुटाउन कठिन नहुने बताउनुहुन्छ ।

“यस क्षेत्रमा हामीसँग पर्याप्त अनुभव नभएकाले अन्य पक्षको सहायता भने लिनुपर्ने हुन सक्छ”, उनले भने, “नेपाल पेट्रोलियम ऐन, २०४० मा विदेशी कम्पनीको संलग्नतासहितका प्रबन्धहरूमा प्रस्ट व्यवस्था भएकाले कानुनी जटिलता पनि देखिँदैन।”

प्राध्यापक भट्टराई मिथेनको व्यवसायिक उत्पादन चुनौतीरहित भने नरहेको बताउँनुहुन्छ ।

उहाँका अनुसार प्रारम्भिक प्रतिवेदनले ग्यासको ठूलो भण्डार रहेको सङ्केत गरे पनि थप टिप्पणी गर्न विस्तृत प्रतिवेदन नै कुर्नुपर्छ।

“विस्तृत प्रतिवेदन आएपछि पनि व्यावसायिक उत्पादनका निम्ति परीक्षण उत्पादन, व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन, शुद्धीकरण प्रक्रिया र ढुवानी पूर्वाधारका निर्माणलगायतका महत्त्वपूर्ण कामहरू बाँकी नै रहन्छन्”, उहाँले भन्नुभयो ।

“राजनीतिक तहका मानिसहरूले सार्वजनिक खपतका निम्ति यति वर्षभित्र उति वर्षभित्र उत्पादन सुरु हुन्छ भन्नु एउटा कुरा हो। पहिले पनि हाइड्रोजनबाट उर्जा उत्पादन गर्ने विषय निकै चर्चामा आएर पछि सेलाएको थियो। मिथेनका हकमा पनि राज्यले कत्तिको प्राथमिकता दिन्छ भन्ने हेर्नुपर्ने हुन्छ।”

Share Now