Prakash Adhikari June 25, 2025
महेन्द्रनगर (धनुषा), ११ असारः मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशका शिक्षाको अवस्था चिन्ताजनक रहेको बताउनुभएको छ ।
मधेस प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजित राष्ट्रिय शिक्षा सम्मेलनमा मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षा सेवा प्रवाहमा सङ्घीय सरकारको पनि उत्तिकै भूमिका रहने बताउनुभयो । प्रदेशका शिक्षक र शिक्षिका जनताप्रति समर्पित, जवाफदेही र बफादार हुँदै  काम, कर्तव्य निर्वाह गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी शर्मा तिवारीले शिक्षकहरुले राजनीति छाडेर आफनो पेसाप्रति इमान्दार भए अध्यापन गराउन आग्रह गर्नुभयो । प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोजकुमार यादवले मधेसको शिक्षाको स्तर खस्नुमा शिक्षक तथा अभिभावक बढी जिम्मेवार भएको बताउनुभयो ।
प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले मधेसको शिक्षाको सुधारका लागि प्रदेश सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने उल्लेख गर्दै तीन वटै तहका सरकार मिलेर काम गर्नुपर्ने विचार व्यक्त गर्नुयो ।
कार्यक्रममा मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहन साह, शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव दिलिप ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता एवं प्रदेशसभा सदस्य कञ्चन विच्छासहितका वक्ताले धारणा राख्नुभएको थियो ।
कार्यक्रममा मधेस प्रदेशभरिका प्रधानाध्यापक, प्राचार्य, शिक्षा अधिकारी, सचिव, निर्देशक, विज्ञ र सरोकारवाला निकायहरुको उल्लेख्य सहभागिता रहेको छ । त्यस अवसरमा सरोकारवाला विज्ञहरुद्वारा पाँचवटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
Share Now