ब्र्यान्डन ड्रेनन/ बीबीसी न्यूज
वाशिङ्टन डिसी(संयुक्त राज्य अमेरिका),१२ आषाढ । अमेरिकाको मुख्य गुप्तचर निकाय सेन्ट्रल इन्टलिजेन्स एजेन्सी (सीआईए)का प्रमुखले गत सप्ताहान्त अमेरिकाले गरेको आक्रमणका कारण इरानका परमाणु केन्द्रहरू गम्भीररूपमा क्षतिग्रस्त भएको बताउनुभएको छ।
एउटा चुहाइएको खुफिया विश्लेषणमा उक्त हमलाले इरानी परमाणु केन्द्रहरूमा धेरै क्षति नभएको उल्लेख भएपछि राष्ट्रपति डोनल्ड ट्रम्प रिसाउनुभएको थियो।
सीआईएका निर्देशक जोन र्याटक्लीफले मुख्य केन्द्रहरू ध्वस्त भएको बताउनुभयो। तर इरानी परमाणु कार्यक्रम सखाप भएको भनेर चाहिँ उहाँले घोषणा गर्नुभएन।
अन्योलपूर्ण विश्लेषण
एक दिन अगाडि रक्षामन्त्रालय पेन्टागनको खुफिया निकायले गरेको प्रारम्भिक विश्लेषण अमेरिकी सञ्चारमाध्यमहरूमा चुहाइएको थियो जसमा इरानी परमाणु कार्यक्रमका मूल तत्त्वहरू ज्यूँका त्यूँ बाँकी रहेको उल्लेख थियो।
राष्ट्रपति ट्रम्पले चाहिँ अमेरिकी आक्रमणले इरानको परमाणु कार्यक्रम पूर्ण नष्ट भएको दोहोर्याउनुभएको छ ।
उहाँले बुधवार सामाजिक सञ्जालमा झुटा सञ्चारमाध्यमले ढाँटेको तथा तिनीहरूसँग हुँदै नभएको तथ्यलाई पूर्ण कुप्रचार गरेको उल्लेख गर्नुभएको छ।
बिहीवार पेन्टागनमा रक्षामन्त्री पिट हेग्सेथ तथा अन्य सैन्य अधिकारीहरूले रोचक र अकाट्य(तथ्यसहित) प्रेस सम्मेलन गर्ने पनि उहाँले बताउनुभएको छ।
द हेगमा जारी नेटो सम्मेलनमा बुधवार बोल्दै ट्रम्पले अमेरिकाले गरेको आक्रमण निकै शक्तिशाली भएको बताउनुभयो।
आगामी साता हुने वार्तामा आफूले सम्भवतः इरान पक्षबाट तिनको परमाणुसम्बन्धी महत्त्वाकांक्षा अन्त्यको प्रतिबद्धता खोज्ने पनि उहाँले बताउनुभयो। त्यस्तो कुनै वार्ता हुन लागेका बारे इरानले बताएको छैन।
मध्यपूर्वका निम्ति अमेरिकी विशेष दूत स्टिभ विट्कफले अमेरिकी नेटवर्क एनबीसीसँग बोल्दै दुई देशबीच प्रत्यक्ष तथा अप्रत्यक्ष सञ्चार सम्पर्क भइरहेको बताउनुभएको छ।
सीआईए निर्देशक र्याटक्लीफले जारी गरेको विज्ञप्तिमा उक्त एजेन्सीसँग ‘विगतदेखिकै भरपर्दा तथा सही सूत्ररविधिबाट प्राप्त नयाँ खुफिया जानकारीअनुसार कैयन् महत्त्वपूर्ण इरानी परमाणु केन्द्रहरूको विनाश भएको र तिनको पुनर्निर्माणलाई वर्षौँ लाग्ने’ उल्लेख छ।
संयुक्त राष्ट्रसङ्घको आणविक निगरानीसम्बन्धी निकायका प्रमुख राफाएल ग्रोसीले बुधवार तेहरानले इन्रिच्ड यूरेनिअमको ठूलो हिस्सा अन्यत्रै सारिसकेको हुनसक्ने सम्भावना प्रकट गर्नुभएको छ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगेहीले बुधवार अल जजिरासँग बोल्दै भन्नुभयो, पक्कै पनि हाम्रा परमाणु केन्द्रहरूमा धेरै क्षति भएको छ। तर त्यसबारे उहाँले थप खुलाउनु भएन ।
युद्धविराम कायम
यसबीच ट्रम्पले सघाएर घोषणा गरिएको इरान र इजरायलबीचको युद्धविराम सहमति कायम रहेको देखिएको छ।
इरानको सरकारी सञ्चार माध्यमले भनेको छ, सरकारले देशको पूर्वी भागमा विमानस्थलहरू फेरि खोल्दै छ र जनजीवन विस्तारै सामान्य बन्दै छ।इन्टरनेट चल्न थालेका छन् अनि पसलहरू खुल्न थालेका छन्।
आधिकारिक आँकडाअनुसार १२ दिनको युद्धमा ६ सयभन्दा धेरैको ज्यान गएको छ जसमा इस्लामिक रिभोलुशनरी गार्ड्सका प्रमुख होसेन सलामी पनि हुनुहुन्छ। उहाँको अन्तिम संस्कार बिहीवार हुँदै छ।
इजरायली आक्रमणमा मारिएका अन्य कमान्डर तथा परमाणु वैज्ञानिकहरूको अन्तिम संस्कार शनिवार हुने छ।
इजरायलमा त्यहाँको खुफिया निकाय मोसादका प्रमुख डेभिड बार्नियाले आफ्ना एजेन्टहरूलाई धन्यवाद दिँदै इरानी सैन्य नेतृत्वलाई लक्षित गर्ने तिनको कारबाहीले इजरायल थप सुरक्षित भएको बताउनुभएको छ।


















