Prakash Adhikari July 4, 2025

सानेपा(ललितपुर), २० आषाढ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असार १६ देखि शुरू भएको बैठक आज पनि सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्यो ।

आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलले विदेशस्थित जनसम्पर्क समितिहरुको निर्वाचन तालिका सम्बन्धी कार्यक्रम र जनसम्पर्क समितिको महादेशस्तरीय संरचना निर्माणको आवश्यकता र नेपाली जनसम्पर्क समितिको स्थापनाको स्वर्णजयन्ती वर्ष मनाउने प्रस्ताव पेश गर्नुभएको थियो ।

बैठक पछि आफ्नो सामाजिक सञ्जालमार्फत केन्द्रीय सदस्य एवम् विभाग प्रमुख पौडेलले यसको जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभएको छ। केन्द्रीय समितिको बैठकको को पाचौं दिन, प्राप्त भएको ८ मिनटको पुरै समय नेपाली जनसम्पर्क समिति संग सम्बन्धित विषयमा आफ़्नो धारणा राखेको छु। डायस्पोरामा रहेका नेपालीको हितको पक्षमा नेपाल सरकारका वर्तमान परराट्र मन्त्री डा।आराजु राणा देउवाले पुर्र्याएको सहयोगलाई धन्यवाद दिएर जनसम्पर्क समितिहरूको अधिवेशनको कार्यतालिका र अंतराष्ट्रीय जनसम्पर्क समिति, नेपाली जनसम्पर्क समिति महादेश स्तरीय समिति गठन गर्न प्रस्ताव गरेको छु।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरुले दिनुभएको जानकारी अनुसार विभाग प्रमुख पौडेलले विदेशस्थित जनसम्पर्क समितिहरुलाई तीन महिना सदस्यता वितरणको समय दिने र सो सकिएको तीन महिनाभित्र अधिवेशन गर्ने कार्यदेश सहितको निर्देशन दिन आवश्यक भएको प्रस्ताव पेश गर्नुभएको छ । उहाँले जनसम्पर्क समितिहरुलाई क्रियाशील र गतिशील बनाउन अधिवेशन अपरिहार्य भएको उल्लेख गर्नुभएको थियो ।

विभाग प्रमुख पौडेलले जनसम्पर्क समितिहरुको संगठानात्मक स्वरुप विस्तारित गर्न महादेश स्तरीय समिति निर्माण गर्न बाञ्छनीय देखिएको भन्दै सोसम्बन्धी प्रस्ताव पनि पेश गर्नुभएको छ ।

केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख पौडेलले नेपाली जनसम्पर्क समिति स्थापनाको ४९ बर्ष पूरा भएर ५० बर्ष लागेकोले स्थापनाको स्वर्ण जयन्ती मनाउन उपयुक्त देखिएको भन्दै सो सम्बन्धी प्रस्ताव पारित गर्न केन्द्रीय समितिसमक्ष अनुरोध गर्नुभएको छ । नेपाली जनसम्पर्क समितिको स्थापना नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको समुपस्थितिमा १९७६ जुन १३ मा भारतको मुम्बईमा भएको थियो ।

अहिले नेपाली जनसम्पर्क समिति विश्वभर फैलिएको छ । नेपाली कांग्रेसको अभिलेखमा ३७ देशमा जनसम्पर्क समति गठन भएको देखिन्छ। तर १४ औ महाधिवेशनमा २९ देशका प्रतिनिधिहरुले मात्र भोग लिएका थिए ।

नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलले नेपालीहरुको संख्या बढ्दै गएका अन्य देशहरुमा पनि जनसम्पर्क समिति विस्तार गर्नुपर्ने आवश्यकता रहेको कुरा बैठकमा बोल्नुभएको थियो ।

अहिले गुणस्तरीय उच्च शिक्षा, वैदेशिक रोजगारी र अधिक नाफायोग्य र सुरक्षित व्यवसायको खोजीमा नेपालीहरु विदेशिने क्रम बढ्दै गएको छ । नेपाली कांग्रेसले नेपाली कांग्रेसको आदर्श र सिद्धान्ँतले प्रेरित र यसले प्रतिपाद गरेका उदार र लचक राजनीतिक,आर्थिक र सामाजिक नीतिहरुप्रति आकर्षित र प्रतिबद्ध रहेका तर विभिन्न परिस्थितिले विदेशिनु परेका नेपालीहरुलाई जनसम्पर्क समिति अन्तरगत संगठित गर्दै आएको छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू— ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दिपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाई, अमृत अर्याल, कल्पना चौधरी, गेहेन्द्र गिरी, तारामान गुरुङ, राजीव कोइराला, उमेशजंग रायमाझी, अब्दुल सत्तार, राजीव ढुंगाना, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, मुक्ताकुमारी यादव, प्रतिमा गौतम, प्रा.डा. गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, डा. गंगालक्ष्मी अवाल, सुशिला थिङ, सुशिला ढकाल (आचार्य(, शान्ति परियार वि.क., डा. जीवन राना, धना खतिवडा, गोमाकुमारी भट्टराई, अनिलकुमार रुंगटा, आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्का, आमन्त्रित रुपमा बैठकमा सहभागी मन्त्रीहरु— तेजुलाल चौधरी (युवा तथा खेलकूद( र रामनाथ अधिकारी ९.(कृषि तथा पशुपंक्षी विकास) ले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ । कार्यसमितिको बैठक असार २२ गते विहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Share Now