Prakash Adhikari July 5, 2025

-ब्य्रान्डन ड्रेनन/बीबीसी न्यूज, 

वाशिङ्टन डिसी(संयुक्त राज्य अमेरिका), २१ आषाढ । अमेरिकी कङ्ग्रेसले कर तथा खर्चसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सार्नुभएको विस्तृत विधेयकलाई पारित गरेर घरेलु मुद्दामा उहाँलाई निकै महत्त्वपूर्ण जित दिलाएको छ।

क्यापिटल हिलमा भएको रस्साकस्सीपश्चात् तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले त्यसलाई बिहीवार पारित गर्‍यो। उक्त विधेयकको पक्षमा २१८ अनि विपक्षमा २१४ मत परेको थियो।

मङ्गलवार माथिल्लो सदन सिनेटले जम्मा १ मतको अन्तरले उक्त विधेयक पारित गरेको थियो।

ट्रम्पले रिपब्लिकनहरूको बहुमत भएको कङ्ग्रेसलाई जुलाई ४ तारिखभित्र सो विधेयक पारित गरेर अन्तिम अनुमोदनका निम्ति उहाँकहाँ पठाइसक्न समयसीमा दिनुभएको थियो।

कसरी भयो विधेयक पारित?

कङ्ग्रेसनल बजेट कार्यालयको अनुमानमा सो विधेयकले आगामी १० वर्षमा सङ्घीय वित्तीय घाटामा ३३ खर्ब डलर थप्ने छ भने दशौँ लाख मानिसको स्वास्थ्य बिमा गुम्ने छ – तर ह्वाइट हाउसले ती अनुमानलाई अस्वीकार गरेको छ।

बिहीवार साँझ पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नयाँ कानुनले देशलाई रकेट यानमा परिणत गर्ने बताउनुभयो ।

“देशका निम्ति यो महान् कानुन हुने छ”, उहाँले भन्नुभयो ।

जुलाई ४ को स्वतन्त्रता दिवसको समारोहका बेला विधेयकमा उहाँले हस्ताक्षर गर्नुभयो। अब सो विधेयक औपचारिक कानुन बनिसकेको छ ।

कानुन पास भएपछि रिपब्लिकन सभामुख माइक जोन्सनले उहाँको पार्टीभित्र सबैलाई मनाउन विश्वास नै मुख्य कुरा भएको बताउनुभयो।

उहाँले मनाउन परेका रिपब्लिकन सांसदहरूमा टेक्ससका चिप रोय पनि हुनुहुन्थ्यो, जसले केही दिनअघि सिनेटले सो विधेयक पास गरिसक्दा पनि आफ्नो विमति राखिरहनुभएको थियो। तर मत हाल्ने बेला उहाँले मन बदल्नुभयो।

सिनेटले पास गरेको विधेयकमा केही फेरबदल नगरिए पनि रोयले भन्नुभयो,  “मलाई लाग्छ महत्त्वपूर्ण विषयमा हामीले राम्रो परिणाम हासिल गर्‍यौँ।”

केही रिपब्लिकन सांसदहरूले सिनेटले पारित गरेको विधेयकमा विरोध जनाए पनि आखिरमा तल्लो सदनका केवल दुई जना रिपब्लिकन सांसदले मात्र त्यसको विरुद्ध मत हाल्नुभयोस् थोमस मासी र ब्रायन फिजप्याट्रिक।

तल्लो सदनमा विपक्षी डेमोक्र्याटिक पार्टीका प्रमुख नेता हकिम जेफ्रिजले उक्त सदनको इतिहासमै सबभन्दा लामो भाषण गरेर विधेयक पारित गर्नमा ढिलाइ गरिदिनुभएको थियो।

“म्याजिक मिनटु भनिने उक्त परम्पराअन्तर्गतको सम्बोधनमा पार्टी नेताहरूलाई जति पनि समय बोल्न दिइन्छ। जेफ्रिजले ८ घण्टा ४५ मिनेट बोल्नुभएको थियो ।

अमेरिकी जनताका निम्ति ‘चाहिँदो समय’ लिने वाचा गर्दै उहाँले उक्त कानुनले गरिब अमेरिकीहरूलाई पर्ने प्रभावको भर्त्सना गर्नुभयो।

के छ विधेयकको विशेषता?

उक्त विधेयकमा खाद्य सहयोग तथा स्वास्थ्योपचारमा दिइने अनुदान अनि स्वच्छ ऊर्जाका परियोजनाहरूलाई दिइने अनुदान कटौती गरेर खर्च बचत गर्ने उल्लेख छ।

साथै त्यसले चुनावताका वर्तमान राष्ट्रपति ट्रम्पले गरेका दुई वटा मुख्य वाचा पनि पूरा गर्ने छ – उहाँले सन् २०१७ मा गरेका कर कटौतीहरूलाई स्थायी स्वरूप दिने अनि टिप्स, ओभरटाइम र सोसल सेक्युरिटी प्राप्तिकर्तामा लाग्ने कर हटाउने – जसको मूल्य १० वर्षमा ४५ खर्ब डलर हुने अनुमान छ।

त्यस्तै सिमाना सुरक्षा, हिरासत केन्द्र तथा आप्रवासन कानुन कार्यान्वयन अधिकारीहरूमा १५० अर्ब डलर खर्च गरिने छ। अर्को १५० अर्ब डलर ट्रम्पले अघि सारेको ुगोल्ड डोमु क्षेप्यास्त्र प्रतिरक्षा कार्यक्रम लगायतका सैन्य खर्चमा लगाइने छ।

सदनमा मतदान हुँदा प्रक्रियागत अवरोधहरू गर्ने कोसिस गर्दै डेमोक्र्याटहरूले विधेयकप्रति विरोध जनाएका थिए।

उनीहरूका अनुसार उक्त विधेयकले दशौँ लाख अमेरिकीहरूसँग स्वास्थ्योपचार तथा खाद्य सहयोग खोसेर धनीहरूलाई करमा छूट दिलाउने छ।

नर्थ क्यारलाइनाकी डिबोरा रसले भन्नुभयो, “धिक्कार छ तिनलाई जसले थोरैको हितका निम्ति धेरैलाई हानि पुर्‍याउन मत दिए।”

कङ्ग्रेसको दुवै सदनमा ट्रम्पको रिपब्लिकन दल बहुमतमा छ तर उक्त दलभित्रै रहेका विभिन्न गुटहरूमाझ सो विधेयकमा निहित कतिपय नीतिहरूमा भिन्नता थियो।

Share Now