Prakash Adhikari July 5, 2025

 

तासकन्द(उज्वेकिस्तान), २१ आषाढ । एएफसी महिला एसियन कप अन्तरगत आज नेपाली चेलीहरु उज्वेकिस्तानसंग भिड्दै छन् ।

उज्वेकिस्तानको राजधानी तासकन्तमा आज हुने खेलको परिणामले अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्ने एक टोलीको टुंगो लगाउनेछ। खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ।

समूह ‘एफ’ को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तानले हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै समान ६ अंक र समान १७ गोलसहित शीर्ष दुई स्थानमा छन्।

दुवै टोलीले अहिलेसम्म प्रतियोगितामा कुनै गोल खाएका छैनन्। जसले गर्दा यो अन्तिम खेल एक प्रकारको ‘फाइनल सहर’ बन्न पुगेको छ । जहाँ विजेता टोलीले एसियन कपको टिकट काट्ने छ ।

नेपाल र उज्वेकिस्तानले दुई खेलको समाप्तिमा समान ६ अंक छ। अंक सँगै गोल अन्तर समेत समान रहेको छ। नेपाल र उज्वेकिस्तान दुवैले २ खेलमा १७ गोल गरेका थिए।

पेनाल्टी सुटआउट सम्म पुग्ने संभावना

अब शनिवार हुने खेलमा दुवै टिमलाई स्पस्ट जित जरुरी छ। निर्धारित ९० मिनेटमा जसले जित निकाल्छ। सोही टिम एसियन कपमा छनोट हुनेछ।

यदि ९० मिनेटमा नतिजा आएन भने प्रतियोगिताको रेगुलेसन अनुसार सीधै पेनाल्टी सुट आउट हुनेछ। त्यसैले छनोटको लागि दुवै टोलीलाई स्पष्ट जित जरुरी हुनेछ।

नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले दोस्रो खेलमा श्रीलंकालाई ८-० गोल अन्तरले हरायो। घरेलु टोली उज्वेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०-० ले र दोस्रो खेलमा लाओसलाई ७-० ले माथ दिन सफल रहयो।

यो समूहबाट लाओस र श्रीलंकाको संभावना समाप्त भैसकेको छ।

Share Now