क्वाललम्पुर(मलेसिया), २१ आषाढ । एसीसी मेन्स यु १६ इस्ट जोन कपको फाइनलमा सिंगापुरले नेपालसामु १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
खेलमा टस हारेर बलिड.को निम्तो पाएको नेपालले गरेको कसिलो बलिङका कारण सिंगापुर ५० ओभरको खेलमा ४०.५ ओभरमा १ सय १३ रन जोडेको अवस्थामा अल आउट भएको छ । नेपालले उपाधि जित्न १ सय १४ रन जोडे पुग्छ ।
मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामु निरिह जस्तै भयो ।
सिंगापुरका लागि रोहन अस्टिनले ८४ बलको सामनामा सर्वाधिक २३ रन बनाए । कप्तान रियान नायकले ११ बलमा ३ चौकाको सहयोगमा १५ रन जोडे ।
वेदान्स गुप्ता १२ रनमा अविजित रहँदा आकाश तेजा १० रनमा आउट भए । सिंगापुरका अन्य ब्याटरले नेपालको कसिलो बलिङसामु खुलेर खेल्न सकेनन् ।
नेपालका लागि सुशीलबहादुर रावल र अभय यादवले समान ३। ३, शुभम खनालले २ तथा कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो।
उता, सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए ।
समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।


















