क्वालालम्पुर(मलेशिया), २१ आषाढ । नेपालले एसीसी यु १६ इस्ट जोन कपको उपाधि जितेको छ ।
मलेशियाको राजधानी क्वालालम्पुरमा आज भएको खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल अजेय रहदै च्याम्पियन बनेको हो।
क्वालालम्पुरको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालसमक्ष १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
५० ओभरको खेलमा नेपालले १ सय १४ रनको लक्ष्य २९ ओभरमा ८ विकेटको क्षतिमा ११७ रन जोडेर पूरा गर्यो ।
आजको खेलमा नेपाली ब्याटरहरुले अधीर गुमाउदा नेपाल समस्यामा परिसकेको थियो । तर जय थापा र अभय यादवले धैर्यता कायम गर्दै खेललाई नेपालको पक्षमा ल्याएर विजयी बनाए ।
आजको खेलमा नेपालका ओपनर परिमार्जन यादव १३ रनमा र शिवांश बजागाई २० रनमा आउट भए। लगतै ब्याटिड.मा उत्रेका रौनक श्रीवास्तव रन नजोडी आउट भए। तीन विकेटको नोक्सानीमा नेपालले ४० रन जोडेको थियो।
चौथो विकेटको रूपमा प्रसिद्ध जैशी १७ रनमा र सुगम बुढाथोकी १ रनमा आउट भए। कुनै पनि समय नेपालले साझेदारी बनाउन सकेन्।
त्यसपछि ब्याटिड.मा आएका शुभम खनाल १९ रनमा, सचिन भट्ट १ रनमा र कप्तान विपिनप्रसाद शर्मा शून्य रनमा आउट हुँदा नेपाल दबाबमा आयो।
९२ रन जोड्दा नेपालले ८ विकेट गुमाएको थियो। मैदानबाहिरका नेपाल समर्थकहरुको मुटु ढुकढुक भैसकेको थियो । कुनै समय ४२० रन जोड्ने नेपाली किशोर टिम यो प्रतियोगिताका सानो १ सय १४ रनको लक्ष्य हासिल गर्छ कि गर्दैन भन्ने प्रश्न उठिरहेको थियो । तर मैदानमा रहेका जोय थापाले धैर्यता गुमाएनन् । उनले अविजित २४ रन बनाए । अभय यादव अविजित १० रनमा रहँदै नेपाललाई २ विकेटको जित दिलाए।
बलिङमा कापिस भेन्कटरमन विकेट लिङदस युभान पाण्डेले २ विकेट लिए।
यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामू ४०।५ ओभरमा अल आउट भएको थियो ।
सिंगापुरका रोहन अस्टिनले ८४ बलको सामना गर्दै सर्वाधिक २३ रन बनाए । कप्तान रियान नायकले ११ बलमा ३ चौकाको सहयोगमा १५ रन जोडे ।
वेदान्स गुप्ता १२ रनमा अविजित रहँदा आकाश तेजा १० रनमा आउट भए । सिंगापुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका सुशील बहादुर रावल र अभय यादवले समान ३, शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले समान १ विकेट लिए ।
घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो। सिंगापुरले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।
नेपाल र सिंगापुर एकै समूहमा थिए । समूह चरणमा नेपालले सिंगापरलाई ६ विकेटले पराजित गरेको थियो ।
गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।


















