Prakash Adhikari July 8, 2025

काठमाडौं, २४ आषाढ । तिब्बततर्फ परेको पानीले रसुवा भएर आउने भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । बिहान ३ बजेतिर आएको बाढीले नेपाल र चीनको सीमामा रहेको मितेरी पुलपनि बगाएको सामाजिक सञ्जालमा आएका खबरमा जनाइएको छ ।

सामाजिक सञ्जालमा भिडियोसहित पोष्ट गरिएका सूचनामा चीनतिरबाट रसुवा नाका हुँदै ल्याइएका कैयौ विद्युतीय सवारी साधनहरु पनि बाढीले बगाएको जनाइएको छ। दर्जनौ मालवाहक ट्रकहरु पनि पानीमा डुबेका छन् । स्याप्रुबेसी जाने सडक र जलविद्युत आयोजनाहरुको खण्डखण्डमा पनि क्षति पुगेको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहान ७ः३० बजे बाढीसम्बन्धी सूचना र सतर्कता जारी गर्दै नारायणी नदी जलाधारको त्रिशुली उपजलाधार अन्तर्गत भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठूलो बाढी प्रवेश गरेको जानकारी दिएको छ ।

उसले भोटेकोसीस्थित रसुवा स्याप्रुवेसी जलमापन केन्द्रमा आज विहान ३ः३० बजे बाढी पुगेको जनाएको छ। महाशाखाले भनेको छ, “उक्त बाढी विहान ५ बजे त्रिशुलीस्थित वेत्रावती पुगेको देखिन्छ। बेत्रावती केन्द्रमा बहाब करीव साढे २ मिटर बढेको र हाल केही घट्दो क्रममा रहेको देखिन्छ। प्रारंभिक रुपमा यस बाढीको प्रभाव त्रिशुली नदीको बुढी गण्डकी दोभान (वेनिघाट) आसपाससम्म पर्ने देखिएकोले आज दिउसोसम्मै सतर्कता जरुरी देखिएको छ। बाढी पूर्वानुमान शाखाले यस घटनाको अनुगमन गरिरहेको छ र संभावित कारणको अध्ययन शुरु गरेको छ।”

Share Now