काठमाडौँ, २४ असार : रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो ।
कूल २० जना बेपत्ता रहेकामा उनको शव फेला परेपछि अब १९ जना बेपत्ता रहेका प्रहरीको केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
उक्त बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । धुञ्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।
खोज र उद्धारलाई अझ प्रभावकारी बनाइने
प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा आज गएको बाढीमा परी बेपत्ता भएकाहरुको खोज र उद्धारलाई अझ प्रभावकारी बनाइने बताउनुभएको छ ।
बाढी प्रभावित क्षेत्रको अवालोकन गरी फर्किएपछि बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो, “बैठकमा घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक र बेपत्ता परिवारलाई प्रचलित कानुनअनुसार तत्काल राहत उपलब्ध गराउने र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय भएको छ ।”
प्रधानमन्त्री ओलीले उक्त बैठकले जोखिमपूर्ण स्थितिमा खोज र उद्धारमा संलग्न सुरक्षाकर्मी र स्थानीय जनतालाई धन्यवाद दिएको बताउनुभयो । साथै उक्त बैठकले नेपाल–चीन जोड्ने भोटेकोशी नदीको मितेरी पुल र बाटो पुनः निर्माण गरी केरुङ नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत मित्रराष्ट्र चीनसँग समन्वय गर्ने, सडक पूर्वाधार सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिँदै चीनसँगका वैकल्पिक नाकाहरु सुसञ्चालनको तयारी गर्ने समेत निर्णय गरेको छ ।
बैठकले क्षतिग्रस्त भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधार शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै व्यवसायीका कन्टेनर, सवारी साधन र अन्य सामग्रीहरुको क्षतिको बिमालगायत अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउने निर्णय गरेको छ ।


















