काठमाडौं, २६ आषाढ । अखिल नेपाल फुटबल संघ र संघले नै नियुक्त गरेका महिला राष्ट्रिय टोलीका प्रशिक्षकबीच एएफसी महिला एसियन कप छनोटमा कप्तान चयन गर्ने विषयमा देखा परेको विवाद छताछुल्ल भएको छ ।
बन्द शिविर र प्रशिक्षण खेलहरुमा खेलाडीहरुको प्रदर्शन गरेपछि मैदानमा उत्रिने खेलाडी र त्यसको नेतृत्व अर्थात कप्तान छान्ने जिम्मा प्रशिक्षकको हो । नेपाली महिला राष्ट्रिय टोलीका प्रशिक्षक प्याट्रिक डे वाइल्डले उज्वेकिस्तानमा भएको एएफसी महिला कप छनोट खेलमा नेपालको कप्तान फेरेको घट्नामा एन्फाका पदाधिकारीहरुले अनावश्यक विवाद सिर्जना गर्न खोजेका छन् । यसलाई नेपालका युटुवे पत्रकारहरुले मलजल गरिरहेका छन् ।
हेड अफ डेलिगेट्स रहेकी अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य सरिला श्रेष्ठ मलेकु, व्यवस्थापक विन्द्रा देवान, सहायक प्रशिक्षक राजेन्द्र तामाङ र प्राविधिक निर्देशक हरि खड्काले बुधबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलन गर्दै डे वाइल्डकै कारण समन्वयमा समस्या रहेको बताए। पत्रकार सम्मेलनमा प्राविधिक निर्देशक खड्काले भने कप्तान चयन गर्ने जिम्मा मुख्य प्रशिक्षकको भएको स्पष्ट बताए ।
डे वाइल्डले एन्फाको व्यवस्थापनमा कमजोरी, खेलाडीप्रतिको बेवास्ता र आधारभूत सुविधाको अभावलाई पनि उजागर गरेका थिए । युरोपेली मुलुकका प्रशिक्षकले त्यहाँका क्लब तथा राष्ट्रिय टिमले पाउने सेवा,सुविधाको तुलनामा नेपालले आफ्नो राष्ट्रिय टिमलाई दिएको सेवा सुविधा कम भनेको भए त्यसलाई अन्यथा मान्नुपर्ने अवस्था छैन । युरोपको तुलनामा नेपाली खेलाडीले पाउने सेवा सुविधा र नेपाली खर्चले बस्ने होटलको स्तर कमसल हुनु स्वभाविक हो । यसमा न एन्फाले चित्त दुखाउनुपर्ने अवस्था छ, न कुनै नेपाली फुटबल प्रेमीले । तर उनले लगाएको अर्को आरोप चाहि गम्भिर नै छ , खेलको अवधिभर खेलाडी र मुख्य प्रशिक्षक तथा प्रशिक्षकहरुलाई संगै बस्ने व्यवस्था मिलाएको भए टेलिभिजन क्लिपहरुमा प्रतिपक्षी खेलाडीको कमजोरी पत्ता लगाएका कुरा, आफ्ना खेलाडीहरुले सुधार्नुपर्ने विषय आदिका बारेमा राम्रो छलफल फुर्सदका बेलामा हुन सक्थ्यो र त्यसको लाभ राष्ट्रिय टिमले नै पाउथ्यो ।
जहाँसम्म नियमित कप्तान फेरेको र कप्तानको जिम्मेवारीबाट विमुख बनाइएकी एञ्जिला तुम्बापो सुब्बालाई मैदानमा नउतारिक जगेडा राखिएको विषय छ । कप्तानबाट हटेको मनोविज्ञानले खेलको नजितामा असर गर्छ कि भन्ने सतर्कता अपनाएको हो कि भन्ने देखिन्छ । नेपालकी नयाँ कप्तान सावित्राको प्रदर्शनमा नेपालका तीनवटै खेलमा कमी रहेन । उज्वेकिस्तानसंगको तेस्रो र निर्णायक खेललाई बराबरीबाट पेनाल्टी सुट आउटको तहसम्म पुर्याउने श्रेय नयाँ कप्तान सावित्रा भण्डारीलाई नै जान्छ ।
मुख्य प्रशिक्षक र एन्फा अफिसियल, एन्फा अफिसियल,मुख्य प्रशिक्षक र खेलाडीहरुबीच विवाद रहेकै बेलामा पनि मैदानमा उत्रिएर नेपाली महिला खेलाडीहरुले जुनस्तरको प्रदर्शन गरे त्यो सबैले तारिफ गर्नुपर्ने विषय हो । केही सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले त नेपाली टोली उज्वेकिस्तान प्रस्थान गर्ने समयमा नै उज्वेकिस्तान फिफा वरियतामा नेपालभन्दा उनन्पचासौं स्थान माथि रहेकोले जित्न मुस्किल हुने भविष्यवाणी गरेका थिए । तर तिनै मिडिया र सञ्चारकर्मीहरु नियमित समयमा खेल बराबरीमा ल्याउने नेपाली टिम पेनाल्टी सुटआउट चुक्यो भनेर खोइरो खनिरहेका छन् ।
एन्फा र नेपाली खेलप्रेमीहरुले यो विवादलाई यही विसर्जन गर्नु आवश्यक छ । विगतमा एन्फा लामोसमय सम्म एएफसीको सदस्यताबाट निलम्बन भएको हो । विवाद आएपछि कुनै समय क्रिकेट संघ पनि निलम्बनमा परेको थियो । एन्फाको स्वीकृति लिएर नियुक्त मुख्य प्रशिक्षकसंग केही विषयमा असमझदारी भए त्यसलाई दुवैपक्ष बसेर सुल्झाउनु उचित हुन्छ ।
वर्तमान प्रशिक्षक आउनु अगाडि नेपाली महिला फुटबलको प्रदर्शन हामीले देखेकै हो । बंगलादेशका फुच्चीहरुलाई पराजित गर्न नसकेर नेपाली महिला टोली साफ च्याम्पियन हुनबाट बञ्चित भयो । त्यसको झोंकमा प्रशिक्षक राजेन्द्र तामाड.ले राजिनामा पनि दिनुभएको हो ।
यी प्रशिक्षकसंग खेलाडिलाई सिकाउने कला र ज्ञान भएकोमा द्धिविधा छैन । तर फुटबलमा देखा परेको यो विवाद राजनीतिक दाउपेचमा पर्नबाट सबैले जोगाउनु पर्दछ । एन्फामा राजनीति छ र त्यो निकै गहिरोसंग बसेको छ । एन्फाको जरोसम्म पुगेका गणेशथापा त्यसको लाभ आफ्नो पक्षमा पार्न अझै लालयित छन् । कांग्रेस समर्थक भएर पनि पूर्वअध्यक्ष कर्माछिरिड. शेर्पा र वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाड.बीचको झगडा पनि कम्ति घातक रहेन । एन्फाका पदाधिकारीहरुले लिने सेवा सुविधा र राष्ट्रिय टिमका खेलाडीलाई दिने सेवा सुविधाका कुरा बल्ल सतहमा आएका छन् । त्यसमाथि छानविन गर्ने हो भने यो एन्फालाई विघटन हुनबाट कसैले जोगाउन सक्दैन ।
एन्फाले अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकसंग समन्वय गरोस् । मतभेद हटाएर उनलाई पूर्णकाल नेपालका महिला टोलीलाई प्रशिक्षण दिने व्यवस्था मिलाओस् । त्यसले नै महिला फुटबल खेलको स्तरमा सुधार ल्याउछ । खेलको स्तर सुधारिएपछि हरेक प्रतियोगितामा विजेता र पदक तथा उपाधिको हकदार नेपाल बन्ने छ । एन्फा पदाधिकारीहरु व्यवसायिक निष्ठामा बसेको खेलकूद प्रशिक्षकलाई दोष दिएर संस्थालाई दलीय राजनीतिमा गाडेर खेलाडीहरुलाई अप्ठ्यारोमा पार्ने प्रवृत्तिबाट मुक्त हुन जरुरी छ ।


















