काठमाडौं, ३० आषाढ । माल्दिभ्समा हुने काभा पुरुष क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न टिप टप हेल्प नेपाल स्पोर्टस क्लबको टोली आज काठमाडौंबाट मालदिभ्स प्रस्थान गर्ने भएको छ ।
काभा क्लब च्याम्पियनसिप साउन १ देखि ७ गतेसम्म माल्दिभ्सको राजधानी मालेमा हुनेछ। नवौं प्रधानमन्त्री कप नेपाल भलिबल एशोसियसन लिगको पुरुषतर्फ उपाधि जित्दै हेल्प नेपाल यो प्रतियोगिताको एागि छनोट भएको हो। हेल्प नेपालको यो लगातार दोस्रो सहभागिता हो।
यसपटक प्रतियोगितामा नेपाल, काजकिस्तान, किर्गिजस्तान, पाकिस्तान र श्रीलंकाका एकएक क्लब तथा आयोजक माल्दिभ्सको दुई टिमले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्नेछन्।
नेपालमा गत वर्ष भएको यो च्याम्पियनसिपको पहिलो संस्करणमा हेल्प नेपाल फाइनलमा पराजित भएको थियो। यो पटक भने उपाधि जित्ने टिम बनाइएको प्रशिक्षक उत्सव खड्काले बताउनुभएको छ।
यो पटक तीन उत्कृष्ट विदेशी खेलाडी भित्राएको र विभागीय टिमका खेलाडीलाई समेटेर टिमलाई बलियो बनाएको उहाँको दावी छ।
तर टिमले नै एकजुट भएर प्रशिक्षण गर्न भने पाएका छैनन्। विदेशी खेलाडी सीधै माल्दिभ्स पुग्नेछन्। यहाँबाट टोली माल्दिभ्स पुगेपछि टिम सेट गर्नको लागि दुई दिनको समय रहनेछ।
उज्वेकिस्तानको क्लबले भने अन्तिम समयमा नाम फिर्ता लिएको थियो। यो प्रतियोगिताको सन् २०२६ को एसियन क्लब च्याम्पियनसिपको छनोट पनि हो। विजेता टोलीले एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले टोलीलाई बिदाइ कार्यक्रममार्फत विजयको शुभकामना दिइसकेको छ ।


















