काठमाडौँ, ३१ आषाढ । घुस डिल गरेको अडियो सार्वजनिक भएपछि आलोचनाको पात्र बन्नुभएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभएको छ । उहाँको राजिनामा स्वीकृति समेत भइसकेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एमाले सांसद भगवती न्यौपानेलाई सो पदमा नियुक्त गरिसक्नुभएको छ ।
निवर्तमान मन्त्री गुप्ता ७८ लाख घुस काण्डमा मुछिनुभएको थियो । एमाले केन्द्रीय सदस्य समेत रहेका गुप्ताले मंगलबार राजिनामा दिनुभएको हो । मन्त्री गुप्ता र बिचौलियाबिच कास्की मालपोत अधिकृतको सरुवा रोक्न र भूमि आयोगको अध्यक्ष नियुक्ति गर्न मोलमोलाइ गरेको भनिएको अडियो सार्वजनिक भएको थियो ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई बालुवाटार बोलाएर अडियो प्रकरणबारे सोधखोज गरेपछि उहाँ राजीनामा गर्न बाध्य हुनुभएको हो ।
आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष मंगलबार बिहान राजीनामा दिएको मन्त्री गुप्ताले बताउनुभएको छ ।
‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ’, गुप्ताले प्रधानमन्त्रीलाई राजीनामा बुझाइसकेपछि सामाजिक सञ्जाल फेसबुकमा पनि लेख्नुभएको छ, ‘कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ ।’
घुस डिल अडियो सार्वजनिक भएपछि सत्तापक्षदेखि प्रतिपक्ष समेतले छानबिन र प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने माग गरेका छन् ।
अडियोमा नाम जोडिएका अर्का मन्त्री भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको राजिनामा बारे प्रधानमन्त्री अनिर्णित हुनुहुन्छ । उक्त अडियो प्रकरणमा मन्त्री गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परिसकेको बताइएको छ । गुप्ताले लिएको घुसको रकम, नोट नम्बर र फोटोसहित उजुरी परेको अख्तियार स्रोतले जनाएको छ ।
त्यही अडियोमा गुप्ताबाहेक भूमि व्यवस्थामन्त्री बलराम अधिकारीको समेत नाम उच्चारण भएको सुनिन्छ । अधिकारीको नाम बिचौलिया र गुप्ता स्वयंले पनि लिएका छन् । त्यो बाहेक बिचौलिया र गुप्ताबिचको संवादमा ‘बा’ भन्ने शब्द समेत सुनिन्छ । ती ‘बा’ को हुन्ः के का लागि बा उच्चारण भयो भन्ने प्रश्न पनि सोझिएको छ ।
सार्वजनिक भएको २५ लाखको घुस डिलसम्बन्धी अडियोमा गुप्ताले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई पैसा (घुस० खाइसकेको दाबी गर्नुभएको छ।
अडियोमा बिचौलियाले गुप्तालाई आग्रह गर्दै भनेको सुनिन्छ, ‘सुन्नु न मन्त्रीज्यू, त्यो बलराम ९भूमि व्यवस्थामन्त्री बलराम अधिकारी०लाई भनम् न । बरु, त्यो २० म बुझाइदिउँला के खेम (खेमबहादुर पुन)का लागि भोलि । फर्स्ट आवरमै बुझाइदिन्छु त्यो पनि । भन्दिनु त बलरामलाई ।’
यो संवादबाट पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि प्रस्ताव गरिएको सहजै बुझ्न सकिन्छ । त्यसको जवाफमा मन्त्री गुप्ताले भन्नुभएको छ, ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले (काम) गर्दैन ।’ गुप्ताले कास्की मालपोतका तत्कालीन प्रमुखको सरुवाका विषयमा बलरामलाई जोडेको तर बिचैमा बिचौलियाले त्यो विषयमा होइन, भूमि आयोगमा नियुक्तिका सन्दर्भमा कुरा गरेको भन्दै गुप्तासँग पुन भन्छन्, ‘त्यो होइन क्या, आयोगको कुरा गरिराको छु ।’
त्यसपछि पनि पटक पटक पुनलाई नियुक्ति गर्न मन्त्री अधिकारीलाई भनिदिन आग्रह गरेको सुनिन्छ । एक पटकको जवाफमा मन्त्री गुप्ता रसिक पारामा भन्छन्, ‘अब अहिले मन्त्रालयमा छ, यहाँ (निवास) हुन्थ्यो भने आइहाल्थ्यो, तीनपाने रक्सी खान ।’
त्यस्तै सार्वजनिक अडियोमा सुजन लामा भनिएका बिचौलियाले पनि मन्त्री अधिकारीको नाम प्रस्टै लिएको सुनिन्छ। ‘हिजो भूमिमन्त्रीसँग भेटघाट भएको थियो मेरो । तपाईं पहिल्यै किन नआएको? तपाईँको नाममात्रै सुनेको मैले सुजन भाइ । तपाईं त मेरो परिवारजस्तो रहेछ ।तपाई मसँग पहिला किन भेट्न आउनुभएन? तपाईले खेम पुन की खेम पुन भनेर यही अडान लिएको भए पाँच दिन अघि भनेको भए म खेम पुन नै गर्दिन्थे भनेर मन्त्रीले भन्नुभयो ।’ यो अभिव्यक्ति र अडियो प्रकरणले ७७ वटै जिल्लामा गरेको भूमि आयोगको अध्यक्ष नियुक्तिमा घुस लेनदेन भएको आशंका गरिएको छ।
तर मन्त्री अधिकारीले सोमबारको प्रतिनिधि सभा बैठकमा आफूमाथि उठेको प्रश्नको प्रतिवाद गर्नुभयो ।उहाँले कुनै गलत काम गरेको भए तथ्य देखाउन चुनौती दिनुभयो।


















