Prakash Adhikari July 15, 2025
काठमाडौं, ३१ आषाढ । नेपालको सबैभन्दा जेठो बाणिज्य बैंक नेपाल बैंक लिमिटेडले खातावाला शिक्षक रघुनन्दन यादवको परिवारलाई दुर्घटना वापतको बीमा रकम भुक्तानी गरेको छ ।
बैकले सडक दुर्घटनामा जीवन गुमाउनुभएका मकवानपुर जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. १ स्थित झम्केश्वरी माध्यमिक विद्यालयका शिक्षक तथा यस बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहक रघुनन्दन यादवको परिवारलाई दुर्घटना बीमा वापतको ५ लाख रुपैया भुक्तानी गरेको हो । खाताग्राही शिक्षक यादवको गत जेठ १२ गते मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ३ मा सडक दुर्घटनामा परी देहावसान भएको थियो ।
बैंककोे कर्मचारी तलब खाता अन्तर्गतको विशेषता बमोजिम खाता खोलेको एक वर्ष भित्र ग्राहकको मृत्यु भएमा रु. ५ लाख सम्मको दुर्घटना बीमा पाउनसक्ने व्यवस्था अनुसारको माग दाबीको अविलम्ब भुक्तानी गरिएको हो ।
बैंकले यही आषाढ २२ गते एक कार्यक्रम आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले मृतक रघुनन्दन यादवप्रति श्रद्धाञ्ली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरी बीमा दावी  रकमको चेक स्व. यादवकी श्रीमती अमिरा कुमारी यादवलाई हस्तान्तरण  गर्नुभएको थियो ।
सो समारोहमा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले नेपाल बैंक लि. ले आफ्ना ग्राहकहरुका वित्तीय सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै आइरहेको र आगामी दिनहरुमा पनि उत्कृष्ट ग्राहक सेवा र सुरक्षालाई उच्च प्राथमिकता प्रदान गर्दै जाने बताउनु भयो । सो अवसरमा स्व. श्री रघुनन्दन यादवकी पत्नी श्रमती अमिरा कुमारी यादवले दःुखको बेलामा बिना कुनै झन्झट नेपाल बैंक लि. बाट प्राप्त यो आर्थिक रकमले परिवारको भरणपोषणमा धेरै राहत पाएको महसुस गरेको बताउनुभयो ।
Share Now