काठमाडौँ, ३१ असार: कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ६८ करोड ९३ लाख बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकले विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पुष्करबहादुर पालद्वारा प्रस्तुत बजेट र कार्यक्रम स्वीकृती गरेको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले पठनपाठन, परीक्षा प्रणाली, अनुसन्धान र गुणस्तर सुनिश्चितताका साथै बिजनेश इन्कुबेसन केन्द्र स्थापनाजस्ता काममा अग्रसरता लिइएको बताउनुभयो ।
कुलपति ओलीले सबै विश्वविद्यालय (प्रतिष्ठान)हरूले नयाँ आर्थिक वर्षअगावै आगामी आवको बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृति गर्न दिएको निर्देशनअनुसार छोटो सूचनाका आधारमा विश्वविद्यालयको सभा राखिएको हो ।
आज मात्रै चार वटा विश्वविद्यालय–प्रतिष्ठानको सिनेट सम्पन्न भएको छ भने बुधबारका लागि बाँकी दुई विश्वविद्यालयको बैठक तय भएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन अर्ब १९ करोड
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको १५ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु तीन अर्ब १९ करोड ४६ लाखको बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो ।
कुलपति ओलीले बेरुजु फछ्र्योटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो ।
कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरुले नयाँ आर्थिक वर्ष लाग्नुअगावै आगामी आव बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिको क्रम जारी रहेको छ ।


















