माले(माल्दिभ्स), ५ साउन । काभा मेन्स च्याम्पियन्स लिग अन्तरगत आज नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले आज चौथो खेल खेल्दैछ।
आफ्नो चौथो खेलमा हेल्प नेपालले काजकिस्तानको क्लब जेटएचकेसँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
जेटएचके ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ । हेल्प नेपाल भने समान खेलमा ६ अंकका साथ तेस्रो स्थानमा छ । तीन मध्ये हेल्प नेपालले दुईमा जित तथा एकमा हार बेहोरेको छ । तेस्रो खेलमा हेल्प नेपाल कीर्गिस्तानको क्लबसँग ३-२ ले पराजित भएको थियो। पहिलो र दोस्रो खेलमा नेपालले आयोजक मादिभ्सका क्लबहरुमाथि शानदार जित निकाल्यो । पहिलो खेलमा हेल्प नेपालले बिहीवार घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३-२ ले हराएको थियो । दोस्रो खेलमा शुक्रवार माल्दिभ्सकै क्लब एचडीसीलाई ३-१ ले हरायो ।
सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा)को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरी ६ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा भईरहेको छ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।


















