ढाका(बंगलादेश), ५ साउन । बंगलादेशमा जारी साफ यू २० महिला च्याम्पियनसिपको अन्तिम एवं न्र्णिायक खेलमा नेपाल दोस्रो पटक बंगलादेशसँग भिड्दै छ ।
फाइनल सरह मानिएको दुई देशबीचको खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
यो खेलमा नेपालले बंगलादेशलाई हराएमा नेपाल च्याम्पियन बन्ने छ । दुवै टिमको लागि यो अन्तिम खेल हो ।
नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेशले बराबरी मात्र खेलेपनि उपाधिका लागि पर्याप्त हुनेछ भने नेपाललाई जितको विकल्प हुने छैन ।
नेपाली चेलीहरु यसअघिको खेलमा अन्तिम मिनेटमा बंगलादेशी खेलाडीलाई बल डी बक्स लैजानबाट रोक्न असमर्थ रहे । इन्जुरी समयको अन्तिम मिनेट अघिसम्म बराबरीमा रहेको खेल, अन्तिम मिनेटमा बंगलादेशले डी बक्सबाट गोल हानेर नतिजा आफ्नो पक्षमा पार्यो । नेपालले भुटान र श्रीलंकालाई भने ठूलो गोलअन्तरले हराएको छ ।
हाल बंगलादेश ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेशले खेलेको पाँचवटै खेल जितेको छ । यस्तै नेपालले ४ जित र १ हराबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलंकालाई दुईदुई खेलमा पराजित गर्दा बंगलादेशसँग भने पहिलो खेलमा पराजित भएको थियो ।
अन्तिम खेलअघि बंगलादेशको ३ अंक बढी छ । त्यसैले अंक बराबरी गर्न पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ । त्यसो भएमा नेपालले बंगलादेशलाई भेट्टाउने छ । यस्तोमा च्याम्पियन बन्न गोल अन्तर निर्णायक हुनेछ ।
५ खेलमा नेपालले कूल ३० गोल गर्दा बंगलादेशले २४ गोल गरेको छ । दुवै टिमले समान ४ गोल व्यहोरेका छन् । ।
यदि नेपालले आज बंगलादेशलाई दुई गोल अन्तरले पराजित गर्न सकेमा स्वतः च्याम्पियन बन्नेछ । यदि नेपालले एक गोल अन्तरले बंगलादेशलाई हराएमा दुवैको अंक बराबर हुनेछ भने हेड टु हेडमा पनि गोल अन्तर बराबर हुनेछ । यस्तो अवस्थामा समग्र गोल अन्तर हेरिनेछ । नेपालले एक गोल अन्तरले मात्र जितेपनि समग्रमा नेपालको गोल अन्तर धेरै हुने अवस्था छ । नेपाल च्याम्पियन बन्ने छ ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने प्रावधान छ ।


















