Prakash Adhikari August 4, 2018

काठमाडौं, १९ साउन । सर्वोच्च अदालतका कायम-मुकायम प्रधान्याधीश दीपकराज जोशी संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि उनी बिदामा बस्ने भएका छन्।

आइतवार उनी अदालत आउने वा नआउने र मुद्दाको पेशी कसले तोक्ने भन्ने अन्योल रहेका बेला वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रले कामु-प्रधानन्याधीश जोशी बिदामा बस्ने र आफूले पेशी तोक्ने बताएका हुन्।

बीबीसीसँग कुरा गर्दै उनले भने, “आइतवारको पेशी तोक्ने जिम्मेवारी मलाई आएको छ। दीपक (राज जोशी) श्रीमान् भोलिबाट बिदामा बस्नुहुन्छ।”

सर्वोच्च अदातलमा भावि प्रधानन्याधीशका लागि योग्यता पुगेका न्यायाधीशहरूमध्ये वरिष्ठता आधारमा जोशीपछि मिश्र र त्यसपछि चोलेन्द्रशमशेर जवरा छन्।

आइतवारको पेशी तोक्ने जिम्मेवारी मलाई आएको छ। दीपक श्रीमान् भोलिबाट बिदामा बस्नुहुन्छ
ओमप्रकाश मिश्र, वरिष्ठतम् न्यायाधीश, सर्वोच्च अदालत

‘सचिवालयले सिफारिस गर्छ’

भावि प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया फेरि अघि बढाउन न्याय परिषद्ले संवैधानिक परिषद्‍मा सूची पठाउनुपर्ने हुन्छ।

न्यायपरिषद्‍को अध्यक्ष कामु प्रधानन्याधीश जोशीले बैठक नबोलाएमा त्यो प्रक्रिया अवरुद्ध हुनसक्ने कतिपय संविधानविद्को भनाइ छ।

तर वरिष्ठतम् न्यायाधीश मिश्रले त्यसका लागि बैठक बस्नै नपर्ने बताए।

उनले भने, “बैठक बस्नैपर्छ भन्ने छैन। न्याय परिषद् सचिवालयले वरिष्ठताक्रम हेरेर पठाउनसक्छ।”

नयाँ सिफारिस हुने प्रधानन्याधीशले पनि संसदीय सुनुवाइ समितिको सामना गर्नुपर्नेछ।

बीबीसीबाट

Share Now

Leave a comment.