प्योड.याड. (उत्तर कोरिया),१९साउन (बीबीसी) । उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई लिएर तनावहरू पुनः बढेपछि उत्तर कोरियाली विदेशमन्त्रीले अमेरिकी गतिविधि स्तब्ध तुल्याउने खालको भएको टिप्पणी गरेका छन्।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको प्रतिक्रियाको जवाफस्वरूप उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको त्यस्तो भनाइ आएको हो।
प्योङयाङमाथि लगाइएका प्रतिबन्धहरूलाई निरन्तरता दिदैँ उसलाई दबाब दिन पोम्पेओले अन्य देशलाई आह्वान गरेका थिए।
गत जून महिनामा सिंगापुरमा अमेरिका तथा उत्तर कोरियाबीच भएको एउटा ऐतिहासिक शिखरसम्मेलनपछि उत्तर कोरियाले परमाणु अस्त्रको निःशस्त्रीकरण गर्ने सम्बन्धमा सहमति जनाएको थियो।
दबाब
ट्रम्प तथा किमबीच भएको सो शिखरसम्मेलनका विस्तृत विवरणहरू अझै पनि अस्पष्ट छन्।
उत्तर कोरियाले उसको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको संयुक्त राष्ट्रसंघको एउटा प्रतिवेदनले जनाएको छ।
प्योङयाङले जहाजबाट गैरकानुनी रूपमा पेट्रोलियम पदार्थको ओसारपसारलाई ‘व्यापक रूपमा बढाएको’ र विदेशमा अस्त्र बेच्ने प्रयास पनि गरिरहेको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ।
सिंगापुरमा आयोजना गरिएको एउटा क्षेत्रीय सम्मेलनमा पोम्पेओले ‘अन्तिम तथा पूर्ण प्रमाणित नि:शस्त्रीकरण’प्राप्त गर्न उत्तर कोरियामाथिको कूटनीतिक तथा आर्थिक दबाबलाई निरन्तरता दिन महत्त्वपूर्ण भएको बताएका छन्।
उसका परमाणु कार्यक्रम तथा क्षेप्यास्त्र परीक्षणका कारण प्योङयाङले कैयौँ अन्तर्राष्ट्रिय तथा अमेरिकी प्रतिबन्धको सामना गरिरहेको छ।
दक्षिणपूर्वी देशहरुको क्षेत्रीय सो भेला- आसियानका क्रममा सिंगापुरका विदेशमन्त्री भिभियान बालकृष्णानले उत्तर कोरियाको परमाणु कार्यक्रमबारे खुलेर छलफल भएको र त्यसले असहमतिका विषयमाथि एउटा शान्तिपूर्ण समाधान प्राप्त गर्नतर्फ सघाउनेमा आशा व्यक्त गरेका छन्।
अस्वीकार
हजारौँ उत्तर कोरियाली कामदारहरूलाई देशभित्र प्रवेश दिएर रुसले उत्तर कोरियामाथि लगाइएका प्रतिबन्धको सम्भावित उल्लंघन गरेको भन्ने विवरणहरूका माझ पोम्पेओले अन्य देशहरूले भने ती प्रतिबन्धहरुको पालना गर्ने अपेक्षा व्यक्त गरेका छन्। रुसले भने आफूले त्यस्तो गरेको अस्वीकार गरेको छ।
जवाफस्वरूप उत्तर कोरियाली विदेशमन्त्री रिले ‘गत जूनमा ट्रम्प तथा किम बीच भएको शिखरबैठकका क्रममा गरेको प्रतिबद्भतामा उत्तर कोरिया अडिग रहेको’बताएका छन्।
गत हप्ता अमेरिकी गुप्तचर अधिकारीहरूले उत्तर कोरियाले नयाँ बलिस्टिक क्षेप्यास्त्रहरूको विकास गरिरहेकोजस्तो देखिएको बताएका थिए।
आसियान बैठकका क्रममा केही बेरका लागि आमनेसामने भएका पोम्पेओ र रिले मुस्कुराउँदै एकअर्कासँग हात मिलाउनुका साथै केही बेर कुरा पनि गरेका थिए।
साथै ट्रम्पले किमलाई पठाएको एउटा पत्र पनि अमेरिकी प्रतिनिधिमण्डलले रिलाई बुझाएको थियो। तर त्यसपत्रमा के छ भन्ने स्पष्ट भइसकेको छैन।