Prakash Adhikari August 5, 2018

कोलम्बस(ओहायो) । मिस भुटान यूएस २०१८ को उपाधि सुचिता प्रधानले जितेकी छिन्। अमेरिकामा रहेका नेपाली भाषी भुटानी किशोरीहरूको क्षमता विकासका लागि अमेरिकामा हरेक वर्ष आयोजना हुने हिमालयन फेस्टिवल अन्तर्गत मिस भुटान यूएस प्रतियोगिता हुँदै आएको छ।

प्रतियोगितामा सामेल अन्य ६ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उनी चयन भएकी हुन् । प्रतियोगितामा ११ जनाको अडिसनबाट दोस्रो चरणमा ७ जना युवती छनौट भएका थिए।

ओहायोको कोलम्बसमा आयोजित उक्त प्रतियोगिताकी विजेता प्रधान नर्थ क्यारोलाइनाका सार्लोट वासिन्दा हुन् ।

प्रधानसँगै मिस भुटान युएस २०१८ मा दुर्गा कट्टेल फस्ट रनर अप तथा गङ्गा दुलाल सेकेन्ड रनर अप घोषित भएका थिए। उनीहरूले क्रमश २ हजार, १ हजार ५ सय र १ हजार डलर नगदसहित अन्य पुरस्कार पाए।

मिस भुटान यूएस – २०१८ को उपाधि जित्ने प्रधानलाई वर्षको सेलीब्रेटी पनि घोषणा गरिएको छ ।

प्रतिस्पर्धीहरूलाई सबल एवं सक्षम बनाउने उद्देश्य राखिएको उक्त प्रतियोगितामा सहभागी किशोरीहरूलाई व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, बोलीचाली, क्याटवाक आदि विषयमा प्रशिक्षणले प्रदान गरिएको थियो।

प्रतियोगिताको कोरियोग्राफी नेपाली नायिका प्रियंका कार्कीले गरेकी थिइन् भने प्रतियोगिताको निर्णायक–मण्डलमा सन् २०१६ को मिस युएस भुटान विजेता विमला शिवाकोटी रहेकी थिइन्। शिवाकोटीसँगै निर्णायक–मण्डलमा गायिका इन्दिरा जोशी, डिजाइनर पुनम गौतम, नेपाली नायक जीवन लुइटेल, डिजाइनर शुभेच्छा भँडेल थिए।

मिस भूटान युएस सन् २०१४ मा पहिलोपटक ह्युस्टन, टेक्ससमा भएको थियो । त्यसपछि टेनेसीको न्यासभिल, ओहायो राज्यको क्लिभल्याण्ड, पेन्सलभेनिया राज्यको ह्यारिसवर्ग हुँदै ओहायोको कोलम्बस आइपुगेको हो ।

Share Now

Leave a comment.