Prakash Adhikari July 25, 2025

काठमाडौँ, ९ असोज। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताउनुभएको छ । साथै उहाँले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गर्नुभयो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले भन्नुभयो ‘मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन ।’

उहाँले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि बाँकी जीवन कुनै सङ्गठनमा लाग्दा नै उपयुक्त हुन्छ भनेर ४५ वर्षदेखि आफू आबद्ध एमालेको सदस्यता नवीकरण गरेको समेत बताउनुभयो ।

‘हुलहुज्जत र उत्तेजनामा आएर मेरो सदस्यता खारेज गर्न मिल्दैन । पार्टी प्रणालीमा चल्छ । कसलाई के गर्न मन लाग्छ त्यो अलग विषय हो’, भण्डारीले एमाले कार्यकर्ताहरु, शुभचिन्तक र पत्रकारहरुको बाक्लो उपस्थितिबीच भन्नुभयो ।

उहाँले आफूलाई सदस्यताबाट वञ्चित गर्न कदापि नमिल्ने बताउँदै भन्नुभयो,‘पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कारण छैन । नेपालको संविधान, ऐन र संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने पार्टीको अपरिपक्व निर्णयले दुःखी बनाएको छ । यसले साख गिर्नेछ ।’ उहाँले आवेग र उत्तेजनाका भरमा गरिने यस्ता निर्णयले वास्तविकता छोप्न नसकिने भन्दै विवेकसम्मत निर्णय लिनुपर्छ भन्ने जनताको बहुदलीय जनवादको मर्म भएको बताउनुभयो ।

उहाँले नेकपा एमाले पार्टीले गरेको हालैको निर्णय वैध नभएको समेत बताउनुभयो। उहाँले आफू पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको भन्दै पार्टीप्रतिको निष्ठामा प्रतिबद्ध हुँदाहुँदै पार्टी सदस्यताबाट वञ्चित गर्न कदापि नमिल्ने दावी गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टी बनाउन आफू लगायत हजारौँ नेता कार्यकर्ताको रगत पसिनाको मेहनत रहेको भन्दै यो कुरा भावनामा बगेर नभनेको बताउनुभयो । एमालेको पूर्वउपाध्यक्ष रहनुभएकी भण्डारीले जबजले अघि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणको निष्ठापूर्वक रक्षा गर्न देशभरका एमाले पङ्क्तिलाई आग्रह गर्दै एमालेमा सक्रिय भएर नेतृत्व गर्ने आफ्नो निर्णयबाट विचलित समेत नहुने दावी गर्नुभयो ।

पदको लालसा, महत्त्वाकाङ्क्षा र आशक्ति छैन

पूर्वराष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्त्वाकाङ्क्षा र आशक्ति नभएको स्पस्ट पार्नुभयो । पत्रकार सम्मेलनमा राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको भन्दै पार्टीमार्फत देश र जनताको सेवा गर्न लागेको बताउनुभयो।

‘मलाई कुनै पदप्रति लालसा, महत्त्वाकाङ्क्षा र आशक्ति छैन । किनकि मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ भण्डारीले भन्नुभयो ।

उहाँले आफू राजनीतिमा आएर देश र जनताको सेवा गर्ने विषयलाई अनौठो नमान्न आग्रह गर्दै भनिन्,‘म राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने सङ्कल्प गर्नु कुनै अनौठो र आश्चर्यजनक विषय होइन ।’

उहाँले पार्टी राजनीति गर्न पाउने आफ्नो संवैधानिक अधिकार भएको दाबी समेत गर्नुभयो । ‘यो संवैधानिक अधिकार मात्रै होइन । मुलुकमा राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको दिन र आफ्नो पार्टी जीवन आफ्नो पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हो ।’

कार्यकर्तालाई आह्वान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनमा २ पेज लामो लिखित भाषण वाचन गर्नुभयो ।

उहाँले आफ्नो सदस्यता खोस्ने वा खारेज गर्ने पार्टीको निर्णय उत्तेजना र आवेगमा भन्दै त्यसलाई अपरिपक्व निर्णयको संज्ञा दिनुभयो।

‘राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन–मनन् गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउनेरनबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ’, भण्डारीले भन्नुभयो, ‘जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेँ, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ । ’

उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैँतिस वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको पैँतालिस वर्ष बितिसकेका छन् । त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन। ’ एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले भन्नुभएको छ, ‘यो पार्टी बनाउन म लगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ । यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन । बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरू राखिरहेको छु । यस आधारमा, जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पङ्तिमा आग्रह गर्दछु ।’

दुई कार्यकाल राष्ट्रपति बन्नुभएकी भण्डारीले यो आग्रह र सङ्कल्प अन्तरआत्माको आवाज भएको र आफ्नो निर्णयबाट विचलित नहुने दोहोर्याउदै भन्नुभयो, ‘त्यसैले, म सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आव्हान गर्दछु ।’


प्रेस विज्ञप्तिको पूर्णपाठ

नेकपा (एमाले) मा मेरो संलग्नता र पार्टी सदस्यताको नवीकरणको विषयलाई लिएर विगत केही समयदेखि घनिभूत ढङ्गले आम सञ्चार जगतले चासो राखिरहेकोमा मेरो ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले मेरा बारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु ।

देशको राष्ट्रपतिको भूमिकालाई सफलतापूर्वक पूरा गरी एक नागरिकको रूपमा रहँदै आएको केही महिनापछिदेखि नै आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट मेरो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको थियो । विगत एक वर्षदेखि त व्यापक रूपमै मेरा बारेमा आमसञ्चार माध्यमले सरोकार राखेको पनि सबैलाई अवगतै छ ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन–मनन् गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने/नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ । जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेँ, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ ।

मैले यो विषय सार्वजनिक नगरिरहेकै अवस्थामा पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिँदै मेरो पार्टी सदस्यता नवीकरणका बारेमा सञ्चार माध्यमले बाहिर ल्याए । अब यस्तो परिवेशमा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा चुपचाप रहनु उपयुक्त हुँदैनथ्यो । सदस्यता नवीकरण गर्नुको औचित्य पनि नेकपा (एमाले)मा आबद्ध भएर अगाडि बढ्नु नै थियो । यसै विषयलाई मध्यनजर गर्दै मैले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा आफूले नेकपा (एमाले)को सदस्यता नवीकरण गरेको सार्वजनिक गरीकन पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुने सङ्कल्प गरेको कुरा सबैलाई जानकारी गराएको थिएँ ।

हालैका दिनमा नेकपा (एमाले)को केन्द्रीय कमिटीसहितका उपल्ला संरचनामा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भएको कुरा सञ्चार माध्यमका समाचार, पार्टीका नेता तथा कार्यकर्ताका अन्तरवार्ता र सामाजिक सञ्जालबाट थाहा पाएँ । मेरो पार्टी सदस्यताको विषयमा पार्टी केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेरा बीचमा सौहार्दपूर्ण वातावरणमा छलफल समेत भएको थियो । त्यसो त यसभन्दा पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा हुँदैआएको थियो । मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आवद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ । यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तीबाट थाहा पाएँ । वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन ।

म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन । यो संवैधानिक अधिकार मात्र होइन, बरु म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ । कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति म मा छैन । किनकी, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु । मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने नै हो । अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो ।

नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ । संविधानका विभिन्न धारा, मर्म र भावना कहिँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन । यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो । जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट मलाई बञ्चित गर्नुपर्ने कुनै कारण छैन ।

यस सन्दर्भमा, नेपालको संविधान, ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ । यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ । आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैँ छोप्न सकिँदैन । विषद् छलफल गरिकन विवेकसम्मत ढङ्गले निर्णय लिनु पर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो । पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन ।

म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैँतिस वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको पैँतालिस वर्ष बितिसकेका छन् । त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन । यो पार्टी बनाउन म लगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ । यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन । बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरू राखिरहेको छु । यस आधारमा, जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पङ्तिमा आग्रह गर्दछु । मेरो यो आग्रह र सङ्कल्प अन्तरआत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुने छैन । त्यसैले, म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आव्हान गर्दछु ।

जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)प्रतिको नेकपा (एमाले)का नेता, कार्यकर्ता र आम सदस्य एवम् सम्पूर्ण जनसंगठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज हाम्रो पार्टीले यो सफलता हासिल गरेको हो । नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुनेछ । हामी ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको यस्तो महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रै हो । यसका निम्ति हामी सबैको निष्ठायुक्त र निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो । यसो हुन सक्दा नै जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर देशलाई समुन्नत बनाउन सकिनेछ ।

विद्यादेवी भण्डारी

पूर्व उपाध्यक्ष, नेकपा (एमाले)


 

Share Now