Prakash Adhikari July 25, 2025

हेटौडा(मकवानपुर),९ साउन। नेपाली कांग्रेस बागमती प्रदेशमा पार्टीको संस्थापन पक्षबीच नै विवाद देखिएको छ । वागमती प्रदेश सभापति इन्द्र बनियाँ पक्षधरले प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामामाथि अविश्वास पैदा भएकाले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

अविश्वासको प्रस्तावमा प्रदेश सभापति बानियासहित २१ जनाले हस्ताक्षर गरेको उहाँको दाबी छ ।

कांग्रेस संसदीय दलका २१ सांसदको हस्ताक्षरसहित शुक्रबार संसदीय दलमा लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

संसदीय दलको नेताबाट लामालाई हटाउन १९ सांसद चाहिनेमा २१ जनाको हस्ताक्षर जुटेको हो। संसदीय दलको नेता बनेर बागमती प्रदेशको मुख्यमन्त्री बन्न प्रदेश सभापति बानियाले राम्रै कसरत गर्नुभएको बुझिन्छ ।उहाँले संसदीय दलमा बहुमत पुर्याउन लामाको मन्त्रिमण्डलमा रहेका चारजना मन्त्रीहरुलाई आजै राजीनामा दिन लगाउनुभएको थियो । राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने हुनुहुन्छ ।

लामाको स्थानमा आफू आउने तयारी प्रदेश सभापति बानियाले गर्नुभएको छ। उहाँले लामाले मुख्यमन्त्री बने पनि अपेक्षित काम गर्न नसक्नुभएको आरोप लगाउनुभएको छ ।

 

Share Now