Prakash Adhikari July 27, 2025

काठमाडौँ, ११ साउनः साताको पहिलो कारोबार दिन आइतबार नेपालको शेयर बजार ओरालो लागेको छ । पछिल्ला आठ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्सेमा आज करेक्सन भएको हो।पछिल्लो ८ कारोबार दिनमा नेप्से परिसूचक २५६.८९ अंक बढेको थियो । सोही मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो। यस दिन नेप्सेले ३००० देखि ३०५० को प्रतिरोध परीक्षण पनि गरेको छ। तद्पश्चात नेप्सेमा करेक्सन देखिएको हो । अघिल्लो बर्ष नेप्से ३००० पुगेपछि ओरालो लागेको हुनाले आज नेप्से ३००० माथि उक्लिन थालेपछि बिक्री चाप बढ्न गयो । धितोपत्र बजार परिसूचक ओरालो लाग्यो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिँदा कारोबार रकम साढे रु २६ अर्ब नाँघेको छ । नेप्से परिसूचक १८.४४ अङ्कले घटेर२९६४.२० को बिन्दुमा कायम भएको हो ।
आज तीन सय २३ कम्पनीको पाँच करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर दुई लाख तीन हजार ६५८ पटक खरिदबिक्री हुँदा रु २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम पछिल्लो करिब ११ महिनाकै उच्च हो ।
विकास बैंक समूह एक दशमलव २३, उत्पादन तथा प्रशोधन एक दशमलव शून्य आठ, म्युचुअल फण्ड शून्य दशमलव ३९ र व्यापार समूह एक दशमलव ४४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव ७१, वित्त एक दशमलव ९९, होटल तथा पर्यटन एक दशमलव ७९, जलविद्युत् एक दशमलव शून्य नौ, लगानी एक दशमलव ६६, जीवन बिमा एक दशमलव ३५, निर्जीवन बिमा शून्य दशमलव ६७ र अन्य समूह शून्य दशमलव ८६ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ३४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको रु एक अर्ब दुई करोड तीन लाख ३५ हजार ९२३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंक प्रमोटरको शेयर २१ लाख २० हजार ९१२ कित्ता किनबेच भएको छ ।
Share Now